चुनावमा धाँधली भए प्रतिवादमा उत्रिन एमाले अध्यक्ष ओलीको निर्देशन

नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आगामी मंसिर ४ गतेको निर्वाचनमा धाँधली भए प्रतिवादमा उत्रिन पार्टीका नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन् ।आज शनिबार सुनसरीको दुहवीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले गठबन्धनको सरकारले प्रहरी प्रशासनको बलमा चुनावमा धाँधली गर्नसक्ने आँकलन गर्दै यस्तो निर्देशन दिएका हुन् ।

उनले यसअघि दुई पटकसम्म नेकपा एमालेले जितेको उक्त क्षेत्र प्रहरी प्रशासन लगाएर, राज्य शक्तिको दुरुपयोग गरेर र बाकस साटेर हार घोषणा गराइएको दाबी समेत गरेका छन् ।साथै ओलीले प्रहरी प्रशासनका सबै तहका कर्मचारीलाई आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा बुथ क्याप्चर गर्ने, अनियमितता गर्ने, जनताको सार्वभौसत्ता सम्पन्न अधिकारमाथि हस्तक्षेप गर्नेको साथ नदिन पनि आग्रह गरेका छन् ।

प्रहरी प्रशासनका कर्मचारी कुनै एक पार्टीको नहुने र उनीहरूले खाने तलब भत्ता पनि कुनै राजनीतिक दलले नदिने हुँदा जनताको अधिकारको पक्षमा लाग्न ओलीले विशेष आग्रह गरेका छन् ।निर्वाचनमा बाकस साट्ने, बुथ कब्जा गर्ने, अशान्ति मच्याउने, धाधँली गर्ने खालका क्रियाकलापमा प्रहरी प्रशासन, राज्य संयन्त्रका अंग र ती अंगका व्यक्तिहरु संलग्न नहुने विश्वास ओलीको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?