काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह बालेनको १०० दिनको कार्यकाल पूरा भएको छ । सय दिनसम्म मेयर बालेनलाई फोहोर व्यवस्थापनकै चुनौतीले घेर्यो ।त्यस्तै, उनले महानगरका अनधिकृत संरचना हटाउन ३५ दिने सूचना दिएको अवधि सकिएको भोलिपल्टै डोजर लगाएर भत्काउन थाले । यसमा धेरैको समर्थन भएपनि पूर्वतयारी बिना गरिएको भन्दै आलोचना पनि उत्तिकै भयो ।
अर्को महत्वपूर्ण कार्य भनेको उनले फुटपाथका व्यवसायीहरुलाई हटाए । यसमा पनि मिश्रित प्रतिक्रिया छ । कुनै व्यवस्थापनको तयारी नगरी गरेर खाइरहेकालाई विस्थापित गर्नु ठीक नभएको तर्क गर्ने जमात पनि ठूलो छ भने सडकमा अड्डा जमाएर व्यवसाय गर्न हुँदैन सडक हिँड्नको लागि हो भन्दै प्रशंसा गर्ने पनि धेरै छन् ।मेयर बालेनले आफ्नो कार्यकालको बारेमा आफूले भन्दा पनि आम जनताले मूल्यांकन गर्नुपर्ने बताए ।
उनले आज सामाजिक सञ्जालमार्फत आफ्नो कार्यकाल १०० दिन पुगेको उल्लेख गर्दै आफ्नो कार्यक्षेत्रमा परेका विषयमा सचेत रहेर काम गरेको बताए ।यद्यपि सूची बनाउँदैमा सफल भइयो भन्न नसकिने उनको तर्क छ ।





