काङ्ग्रेस नेता राजु खनालमाथि कारबाही सिफारिस

नेपाली काङ्ग्रेसले आफ्ना नेता राजु खनालमाथि कारबाही सिफारिस गरेको छ ।संविधान सभा सदस्य समेत रहेका नेता खनालमाथि कांग्रेसले कारबाहीको सिफारिस गरेको हो । कांग्रेस घोराही नगरपालिका–६ को इकाई कमिटीले खनालमाथि कारबाहीको सिफारिस गरेर कांग्रेस जिल्ला पार्टी कार्यालय दाङ पठाएको उक्त वडामा वडा अध्यक्षमा पराजित रेबबहादुर बुढाथोकीले बताए ।

आफूलाई वडा अध्यक्षमा हराउन खनालले वडाका आफू निकट नेताहरुलाई परिचालन गरेको रेबबहादुरको आरोप छ । स्थानीय तहको चुनावमा पक्वई आएर बिपक्षी एमालेको प्रचार गरेको सुनेको र आफू निकट नेतामार्फत आफूलाई वडा अध्यक्षमा हराउन पैसा बाँडेको आरोप उनको छ ।कांग्रेसकै जिल्ला समितिका एक जना पदाधिकारीले खनालमाथि अन्तर्घात गरेको आरोप लगाई कारबाहीको माग गर्दै पार्टीको वडा इकाईबाट सिफारिस भई जिल्लामा आएको र घटना बारे जिल्ला तहबाट बुझ्ने काम भइरहेको बताए ।

कांग्रेस दाङका उपसभापति तथा अनुशासन आयोगका संयोजक गिरिराज सुबेदीले जिल्लाभरिबाट १५२ जनालाई अन्तर्घात गरेको आरोपमा कारबाहीको माग गर्दै पार्टी तल्लो कमिटीबाट सिफारिस आएको र केहीलाई स्पष्टीकरण सोध्ने काम भइरहेकाले उपयुक्त समयमा नाम सार्वजनिक हुने बताए ।सुबेदीले कारबाहीका लागि कांग्रेसका महाधिवेशन प्रतिनिधि देखि जिल्लास्तरका नेतासम्म सिफारिस आएको जानकारी दिए ।

संविधान सभा सदस्य खनालले भने आफूमाथि कारबाहीको कुरा थाहा नभएको र कहीँ कतैबाट सिफारिस नआएको बताए । कांग्रेस महाधिबेशन प्रतिनिधि समेत रहेका खनालले गलत कुरा भएको भन्दै आफूमाथि कारबाहीको सिफारिस आउनै नसक्ने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?