‘ऐना झ्यालको पुतली’लाई प्रिमियरमा प्रशंसाको ओइरो

शुक्रवारबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘ऐना झ्यालको पुतली’लाई प्रिमियरमा प्रशंसाको ओइरो लागेको छ । सोमबार आयोजित प्रिमियरमा उपस्थिति कलाकार तथा साहित्यकारले चलचित्र हेरिरहँदा आफ्नै कथा हेरिरहे जस्तो महसुस भएको बताएका थिए । गायिका आनी छोइङ डोल्माले चलचित्र असाध्यै सुन्दर बनेको बताउँदै यो चलचित्र नेपालभरिका स्कुलमा देखाउन आग्रह गरिन् । उनले आफूले आजसम्म हेरेका नेपाली चलचित्रमध्ये सबैभन्दा सुन्दर लागेको पनि बताइन् ।

पहिलो चोटि हेर्दा धित नमरेर दोस्रो पटक चलचित्र हेर्न आएका एमाले नेता रघुजी पन्तले ‘ऐना झ्यालको पुतली’ नेपाली चलचित्र कस्तो हुनुपर्छ भन्ने प्रश्नको जवाफ रहेको बताए । ‘यो नेपाली टेस्टको अर्गानिक कथा हो । यो राम्रा चलचित्रको कोटीमा पर्छ । नेपाली चलचित्र कस्तो हुनुपर्छ भन्ने प्रश्नको जवाफ खोजिरहेका हामी सबैका लागि जवाफ हो,’ पन्तले भने ।साहित्यकार नयनराज पाण्डेले चलचित्रलाई ५ मा ५ रेटिङ दिँदै चलचित्र हेर्दा आफूलाई डेढघन्टा मौन साधना गरेको महसुस भएको प्रतिक्रिया दिए । ‘कथा भन्ने शैली यति सहज त यसअघि मैले नेपाली चलचित्रमा विरलै देखेको थिएँ या सायद देखेकै थिइनँ । यो चलचित्रले हाम्रो दिमागमा ‘प्रश्न’ उमार्दोरहेछ । सुन्दर सुइटरझैं बुनिएको पटकथा र बुलन्द निर्देशनले यो चलचित्रलाई भव्य उचाइ दिएको छ । यो नेपाली सिनेमाको ठूलो प्राप्ति हो,’ उनको भनाई थियो ।

निर्देशक दीपेन्द्र लामाले ‘मुकुण्डो’ र ‘नुमाफुङ’पछि ‘ऐना झ्यालको पुतली’ सन्तुष्टि दिने चलचित्र रहेको बताए । ‘झन्डै २० वर्षपछि ‘ऐना झ्यालको पुतली’ मेरो लागि सबैभन्दा बढी सन्तुष्टि दिने नेपाली चलचित्र भइदिएको छ । अर्गाानिक वा मौलिकताका नाममा बनिरहेका आलाकाँचा चलचित्रहरुको डंगुरमा यो सगरमाथाझैं अग्लो र चम्किलो बनेर आइपुगेको छ । व्यक्तिगत रूपमा भन्नुपर्दा, ‘ऐना झ्यालको पुतली’ हेरेर इर्ष्या नै लागेको छ,’ उनले सामाजिक सञ्जालमा लेखेका छन् ।प्रिमियरमा उपस्थित दीपकराज गिरी, दीपाश्री निरौला, केकी अधिकारी, प्रकाश सपुत आदिले पनि चलचित्रमा आफूलाई नै पाएको बताउँदै ‘ऐना झ्यालको पुतली’ उत्कृष्ट रहेको प्रतिक्रिया दिएका थिए । चलचित्रमा सुजित बिडारीको लेखन तथा निर्देशन रहेको छ । आकाश पौडेल, प्रविन स्याङ्बो, रामकृष्ण पोखरेल र सुजित बिडारी स्वयं मिलेर निर्माण गरेको चलचित्रमा सिरु बिष्ट, कञ्चन चिमरिया, दिनेश खत्री, उमेश श्रेष्ठ, अशोक सिवाकोटीको अभिनय छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?