‘हिजो आजका कुरा’को ट्रेलरमा परिवारको कथा

चर्चित हाँस्य कलाकार सन्तोष पन्तका छोरा साकार पन्तको डेब्यू निर्देशनमा बनेको चलचित्र ‘हिजो आजका कुरा’को ट्रेलर सार्वजनिक भएको छ । बुधवार राजधानीमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको ट्रेलरमा अमेरिकी सपना र संघर्षले परिवार र सम्बन्धमा पारेको असरलाई देखाइएको छ । यो चलचित्र बडा दशैंपछि असोज २८ गतेबाट प्रदर्शनमा आउँदैछ ।चलचित्रमा सन्तोष पन्त, रमा थपलिया, केकी अधिकारी, दिव्य देव, साकार पन्त, ऋचा शर्मा, रीमा विश्वकर्मा, जेविका कार्की, रमेश अधिकारी, जयनन्द लामा, अनुष्का घिमिरे, विनायक कुइकेल लगायतको अभिनय छ । रवि सायमीले छायांकन गरेको चलचित्रको कार्यकारी निर्मातामा प्रतिभा पन्त, निर्मातामा सन्तोष पन्त र सकार पन्त छन् भने सह(निर्मातामा बैकुण्ठ प्रसाद उपाध्याय र कुमार मिश्र छन् ।

करीब १८ वर्षसम्म नेपाल टेलिभिजनमा प्रशारण भएको सन्तोष पन्त र रमा थपलिया अभिनीत चर्चित टेलिसिरियल ‘हिजो आजका कुरा’को नाम सापटी लिएर निर्माण भएको चलचित्रले कुनै न कुनै रुपमा विदेशसँग सरोकार राखेका वा राख्न इच्छुक काठमाडौंका चार परिवारको पारिवारिक समस्या, संघर्ष र आतुरतासँगै विदेश जानका लागि केही न केही गुमाउनु पर्ने कथालाई उठाएको छ ।फरक सोचका कुरा, बेथितीका कुरा, विदेशिएकाहरुका कुरा, विदेशिएका कुरा, मतभेदका कुरालाई गठजोड गरेर ‘हिजो आजका कुरा’ बनाएको निर्देशक पन्तले बताए । कलाकार सन्तोष पन्तले चलचित्रमा नयाँ कुरा केही नभएको बताउँदै हरेक नेपालीले घरमा भोगिरहेकै कुरा मात्र चलचित्रमा रहेको प्रस्ट्याए । नेपाली समाजकै वर्तमान अवस्थालाई चलचित्रमा चित्रण गरेको उनको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?