चलचित्र संघले फिर्ता लियो सोमबार हल बन्द गर्ने निर्णय

नेपाल चलचित्र संघले भदौ २७ गते सोमबार देशभरका हल बन्द गर्ने निर्णय स्थगित गरेको छ । शुक्रबार चलचित्र संघको विशालनगरस्थित कार्यालयमा भएको नेपाल चलचित्र निर्माता संघसँगको छलफलपछि संघले तत्कालका लागि हल बन्द गर्ने निर्णय फिर्ता लिएको हो । निर्माता संघले गरेका केही निर्णयमा आपत्ति जनाउँदै संघले आन्दोलनको संकेत स्वरुप हल बन्दको निर्णय गरेको थियो ।आगामी दिनमा चलचित्र क्षेत्रका समस्या समाधानका लागि दुवै संघका महासचिवको नेतृत्वमा ५र५ सदस्यीय वार्ता समिति बनाएर छलफलबाट सहमति र सहकार्य गर्दै अगाडि बढ्ने र दुवै संघका सदस्यहरुलाई संयमित बनाउने निर्णय भएको चलचित्र संघका महासचिव नरेन्द्र महर्जन र निर्माता संघका महासचिव सुनिल कुमार थापाद्वारा संयुक्त रुपमा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ ।

दुई संस्थाबीच भएको छलफलमा दीपकराज गिरी, निश्चल बस्नेत, दीपेन्द्र के। खनाल, ज्ञानेन्द्र देउजा, भाष्कर ढुंगाना, प्रज्ज्वल राणा, खगेन्द्र लामिछाने, किरण नेपालीलगायतको उपस्थिति रहेको थियो । हल बन्द फिर्ता गर्ने चलचित्र संघको निर्णयलाई चलचित्रकर्मीहरुले स्वागत गरेका छन् । संघले सोमवार हल बन्द गर्ने निर्णय गरेपछि प्रदर्शनरत नेपाली चलचित्रका निर्माताहरु तनावमा थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?