अनेक सपना देखाएर सोझासाझा नेपालीलाई युद्धमा होमाएर हत्याहिंसा मच्चाएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ यतिबेला सत्ता स्वार्थको दौडमा छन् । विचार सिद्धान्त नमिल्ने नेपाली कांग्रेससँग गठबन्धन गरेर प्रचण्ड सत्ताको स्वाद लिइरहेका छन् ।प्रचण्ड काठमाडौंको विलासितामा रमाइरहेका बेला उनकै बहकाउमा युद्धमा होमिएका कमाण्डरहरू वाक्क भई आत्महत्याको बाटो रोज्न थालेका छन् । लमजुङका पुराना माओवादी नेता देवेन्द्र पौडेल ‘प्रताप’ले आत्महत्याको बाटो रोजेका छन् ।
युद्धकालमा जिल्ला सेक्रेटरी भएर नेतृत्व हाँकेका प्रतापले आत्महत्या गरेपछि यतिबेला माओवादीका स्थानीय नेता, कार्यकर्ता चिन्तित बनेका छन् । प्रताप ज्यानको बाजी लगाएर युद्धमा हिँडेका थिए, उनले व्यक्तिगत सम्पत्ति पार्टीलाई बुझाएका थिए ।अन्तरजातीय विवाह गरेका थिए तर प्रचण्डको नेतृत्वमा माओवादी पार्टी हतियार बिसाएर खुला राजनीतिमा आएपछि उनी विरक्तिएर पार्टी नै छोडेर बसेका थिए । युद्धका कमाण्डर प्रचण्ड काठमाडौंमा विपक्षीसँग रमाइरहेका बेला प्रतापलाई द्वन्द्वकालको घटनामा व्यक्ति हत्या आरोपमा मुद्दा लगाइएको थियो । उनका दाइलाई पनि द्वन्द्वकालको मुद्धामा गत वैशाखमा जेल हालिएको छ ।
पछिल्लो समय पार्टी बिग्रिएको, पारिवारिक अवस्था र गरीबीले प्रताप चिन्तित थिए । उनी अप्ठ्यारोमा पर्दा पार्टीले समेत हेरेको थिएन । अन्तरजातीय बिहे गरेकाले समाजले पनि बहिष्कार गरेको थियो ।लमजुङ जीताको पुर्ख्यौली सम्पत्ति पार्टीलाई बुझाएकाले उनको सम्पत्ति पनि थिएन । केही समययता ललितपुरमा बस्दै आएका पौडेलले शुक्रबार राति ललितपुरमै आत्महत्या गरेका हुन् ।





