सर्लाहीका उखु किसानले समयमै अनुदानको रकम पाउन नसकेको गुनासो गरेका छन् । नगदे बाली उखुखेती लामो समयदेखि गर्दै आएका किसानलाई सरकारले अनुदान दिने घोषणा गरे पनि पाउनुपर्ने अनुदान रकम समयमा सरकारले भुक्तानी नपठाउँदा किसान मर्कामा परेका हुन् ।जिल्लामा सञ्चालित केही उद्योगले किसानलाई उखु खरिद गरेको रकम भुक्तानी दिएको भए पनि केही उद्योगले रकम नदिएको भन्दै किसानले पटक पटक आन्दोलन समेत गर्दै आएका छन् ।
आन्दोलित किसानका माग पूरा गर्न प्रशासनको पहलमा केही रकम भने भुक्तानी भएको जिल्लाका उखु उत्पादक किसान रामेश्वर महतोले बताउनुभयो । उद्योगहरूले दिने रकम उठ्ने क्रम जारी रहेको तर सरकारले दिने अनुदान रकम नपाउँदा आफूहरू मारमा परेको उखु उत्पादक किसान रामकेशव साहले बताउनुभयो ।गएको वर्ष उखु बेचेका उखु किसानले अहिलेसम्म पनि अनुदान रकम भुक्तानी नपाउँदा घर–व्यवहार चलाउन गाह्रो भएको जिल्लाका किसानको गुनासो छ । सरकारले दिने भनेको अनुदानको रकमसमेत समयमा उपलब्ध नगराउँदा मल तथा उखुखेतीका लागि आवश्यक सामग्री बजारबाट खरिद गर्न समस्या परेको नेपाल उखु उत्पादक सङ्घका केन्द्रीय अध्यक्ष कपिलमुनि मैनालीको भनाइ छ ।
गएको आर्थिक वर्षका लागि सरकारले उद्योग र किसान प्रतिनिधिबीच भएको सहमतिअनुसार उद्योगले प्रतिक्विन्टल ५ सय २० र नेपाल सरकारले ७० रुपैयाँ अनुदान रकम दिने सहमति भएको थियो । तर सहमति अनुसार रकम पाउन नसकेको उखु किसान राजकुमार उप्रेतीले बताउनुभयो ।चिनी उद्योगीले समयमा किसानको उखु बिक्रीको तथ्याङ्क उपलब्ध नगराएकाले किसानको खातामा पैसा पठाउन नसकेको कोष तथा लेखा नियन्त्रण कार्यालय सर्लाहीका प्रमुख कोष नियन्त्रक जीवन पुरीले बताउनुभयो । उहाँले उद्योगीलाई चाँडै किसानले उखु बिक्रीको तथ्याङ्क पठाउन ताकेता गरिएको र उद्योगले तथ्याङ्क पठाएलगत्तै अनुदान रकम पठाउने प्रक्रिया अघि बढाइने बताउनुभयो ।
सर्लाहीमा तीनवटा उखु मिल रहेका छन् । जसमा इन्दुशङ्कर चिनी उद्योग हरिवनले सबै रकम भुक्तानी गरिसकेको छ भने महालक्ष्मी सुगर मिल र धनकौल सुगर मिलले भुक्तानी गर्न बाँकी नै रहेको छ ।





