लगनखेलको मञ्जुश्री पेट्रोल पम्प हटाइँदै, भत्काउन थालियो

ललितपुर महानगरपालिकाले लगनखेलमा रहेको मञ्जुश्री पेट्रोल पम्प हटाउन सुरु गरेको छ । केहीबेर अगाडि सिल गरेर भत्काउने प्रक्रिया थालिएको महानगर प्रहरी प्रमुख सीताराम हाछेथुले जानकारी दिनुभयो । डोजर लगाउँदा पेट्रोल पम्पमा आगलागीको जोखिम हुने भएकाले हातले नै भत्काउन थालिएको उहाँले बताउनुभयो ।

महानगरकै जग्गामा मापदण्ड विपरीत बनाइएको पेट्रोल पम्प लामो समयदेखि सञ्चालनमा रहेको थियो । महानगरले सार्वजनिक जग्गामा रहेको सबै संरचना हटाउने अभियानअन्तर्गत यो पेट्रोल पम्प पनि हटाउन थालिएको उहाँले बताउनुभयो ।

महानगरका मेयर चिरीबाबु महर्जनसहितको टोली लगनखेल पुगेर पेट्रोल सेन्टरमा भएको इन्धन खाली गराएपछि भत्काउन सुरु गरिएको हो । मापदण्ड विपरीत बनाइएको यो पेट्रोल पम्प सञ्चालनमा रहेको संरचना हटाउनका लागि महानगरले पटक–पटक आग्रह गर्दा पनि सञ्चालकले अटेर गरेपछि महागर आफैँले भत्काउन थालेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?