नेपाल र भारतमा एकसाथ प्रदर्शनमा आयो ‘प्रेमगीत ३’

अन्ततः प्रतिक्षाको घडी समाप्त भएको छ । तीन वर्षको प्रतिक्षापछि चलचित्र ‘प्रेमगीत ३’ शुक्रवारबाट हलको पर्दामा लागेको छ । हिन्दी भाषामा समेत डब भएको यो चलचित्र शुक्रवारबाटै भारतका सिनेमा हलमा समेत प्रदर्शनमा आएको छ । तर, नेपालमा भने घटस्थापनाबाट मात्र हिन्दी डब लाग्नेछ । निर्माण कम्पनीले चलचित्र विकास बोर्डमा कर चुक्ताको कागजात पेश नगरेकाले हिन्दी डबको सेन्सर हुन सकेको छैन ।

नेपाली चलचित्रको इतिहासमा सर्वाधिक कमाईको रेकर्ड चलचित्र ‘कबड्डी ४’को नाममा छ । यो रेकर्ड ‘प्रेमगीत ३’ले तोड्न सक्ने विश्लेषण कतिपयको छ । तर, यसका लागि फिल्म लामो रेसको घोडा बन्नु पर्नेछ । यद्यपि, चलचित्रले शुक्रवार र शनिवार ठूलो कमाई गर्नेमा दुईमत छैन । देशभरका अधिकांश सिंगल हल कब्जा गरेको चलचित्रले मल्टीप्लेक्सहरुमा सर्वाधिक शो पाएको छ ।

चलचित्रलाई स्वर्गीय छेतन गुरुङ र सन्तोष सेनले निर्देशन गरेका हुन् । प्रदीप खड्का, क्रिस्टिना गुरुङ, शिव श्रेष्ठ, सुनिल थापा, मनिष राउत, माओत्से गुरुङ, पुस्कर कार्की, प्रेम पुरी, लक्ष्मी वर्देवा, अनुभव रेग्मी, जीवन भट्टराई, योगिशा खत्री, सम्वृद्धि शाही ठकुरीलगायतको पनि अभिनय रहेको यस चलचित्रमा राजेश श्रेष्ठ र पुरुषोत्तम प्रधानको छायांकन छ ।

हिमाल केसीको द्वन्द्व निर्देशन, कविराज गहतराजको कोरियोग्राफी, एलिस कार्कीको ब्याकग्राउन्ड स्कोर रहेको चलचित्रलाई संजय सांकला, बनिश शाह र भुपेन्द्र अधिकारीले सम्पादन गरेका हुन् । चलचित्रको कथा स्वर्गीय छेतन गुरुङ र मन्दिप गौतमले लेखेका हुन् । चलचित्र ढुंगे युगको कथामा निर्माण भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?