नेकपा एमालेका पोलिट्व्युरो सदस्य ठाकुर गैरे संगठित जीवनको ३२ वर्ष पछि पहिलो पटक संसदीय उम्मेद्वार बन्नुभएको छ । नेकपा एमालेले पाल्पा क्षेत्र नं। २ को प्रतिनिधिसभा सदस्यका लागि जिल्लाबाट उहाँलाई एकल सिफारिस गरेको थियो । सोही बमोजिम उहाँले टिकट पाउनुभयो र मनोनयनपत्र दर्ता गराउनुभयो ।
मङसिर ४ गते हुने निर्वाचनका लागि नेता गैरे अहिले जनताको घरघरमा पुगेर मत माग्नमा व्यस्त हुनुहुन्छ । सधै पुरानै अनुहार दोहोरिएर आउने गरेकोमा यसपटक नयाँ र युवा अनुहार उम्मेदवारको रुपमा पाउँदा यहाँका जनता पनि खुशी छन् । सोमवार गैरे तेल्घाका जनताहरुलाई भेटी मतदाता सामु आफ्नो विकासको धारणा राख्दै मत माग्नुभएको छ । तेल्घाबासीले उहाँलाई मत दिई बिजयी गराउने बिश्वास दिलाएका छन् ।
तेल्घाबासीहरुसँगको भेटघाटका क्रममा नेता गैरेले तेल्घा कृषि तथा पशुपालनका हिसावले निकै महत्वपूर्ण ठाउँ रहेकोले पनि यस क्षेत्रको प्रवर्धनमा आफू लागिपर्ने गैरेले बताउनुभयो ।
हुन त गैरे जन्मगाउँ बराङ्दीको बेद माविमै पढ्ने क्रममा विद्यार्थी राजनीतिमा प्रवेश गर्नुभएको हो । उच्च शिक्षा अध्ययनको क्रममा त्रिभुवन बहुमुखी क्याम्पसमा रहँदा स्वतन्त्र बिद्यार्थी युनियनमा २०४९ र २०५१ मा स्ववियुको सचिवमा निर्वाचित हुनुभएको थियो । २०५१ सालमा अनेरास्ववियु जिल्ला कमिटि अध्यक्ष, २०५३ सालमा केन्द्रीय कमिटि सदस्य, केन्द्रीय कमिटिको सचिवालय, केन्द्रीय सचिव, केन्द्रीय महासचिव हुँदै २०६३ मा केन्द्रीय कमिटिको अध्यक्षमा निर्वाचित हुनुभएको थियो ।
अनेरास्ववियुको राजनीतिसँगै २०६६ मा भएको नेकपा एमालेको बुटवलको आठौ महाधिवेशन र नवौ महाधिवेशनबाट केन्द्रीय कमिटि सदस्य र दशौं राष्ट्रिय महाधिवेशनबाट पुनःकेन्द्रीय कमिटि भारी मतका साथ बिजयी हुुनुभयो । उहाँ हाल पार्टीको पालिट्ब्युरो सदस्यको रुपमा रहनुभएको छ । विद्यार्थी आन्दोलन अन्र्तगत बिद्यार्थीको यातायातमा सहुलियत आन्दोलन, कालापानी मार्च, मातृभुमिको सन्देश अभियान, सुस्ता बचाउ अभियान, मेची देखि महाकालीसम्म भारतले गरेको सिमा अतिक्रमणका बिरुद्ध मेची महाकाली राष्टिय अभियानमा गैरेले नेतृत्वदायी भुमिका निर्वाह गर्नुभएको थियो ।
सप्तरीको तिलाठीमा भएको भारतीय हस्तक्षेप र स्थानीय जनताहरु माथि भएको आक्रमणमा घाइते भएकाहरुको रक्षा र त्यस बिरुद्धको आन्दोलनमा गैरेले नेतृत्व दायी भूमिका निर्वाह गर्नुभएको थियो । शाहज्यादा युवराज पारसले गायक प्रविण गुरुङको हत्या गरेपछि हत्यारालाई कारवाहीको माग गर्दै ५ लाख २३ हजार हस्ताक्षर संकलन गरि तत्कालीलन राजा बिरेन्द्रलाई बुझाइएको ऐतिहासिक आन्दोलनको नेतृत्व अनेरास्ववियुको सचिव रहँदा गैरेले नै गर्नुभएको थियो ।
भारतीय नाकाबन्दी बिरुद्धको आन्दोलन, राष्ट्रिय स्वाधिनताको अभियान संचालन गरि सिंहदरबारदेखि संयुक्त राष्ट्र संघको अफिस पुल्चोकसम्म मानव साङलो प्रर्दशन, एनसेल कर छली प्रकरण बिरुद्धको आन्दोलनको नेतृत्व गरि कर बुझाउनुपर्ने परिस्थितिको निर्माण गर्नेमा गैरेको भूमिका महत्वपूर्ण छ ।जनआन्दोलन, विभिन्न समयमा भएका विद्यार्थी आन्दोलनहरुमा उहाँको भूमिका महत्वपूर्ण छ । संसदीय पद नपाउँदा समेत उहाँ अविचलित भई एमालेको राजनीतिमा क्रियाशील रहनुभयो । यसअघि पाल्पामा एमालेबाट सोमप्रसाद पाण्डेले धेरै पटक टिकट पाउँदा उनै पाण्डेलाई जिताउन कस्स्एिर गैरे लाग्नुभएको थियो । अहिले भने पाण्डे नेकपा एसमा गई गठबन्धनबाट उम्मेद्वार बन्दा गैरेले एमालेबाट मौका पाउनुभएको हो । अहिले पाण्डे र गैरे एउटै पदका लागि एउटै क्षेत्रबाट प्रतिस्पर्धामा हुनुहुन्छ ।





