नेकपा एमालेका अध्यक्ष धनेन्द्रराज घिमिरेले पाल्पामा नेकपा एमालेको जित निश्चित भएको बताएका छन । नेकपा एमाले तानसेन नगरकमिटीको बैठकमा बोल्दै एमाले पाल्पा अध्यक्ष घिमिरेले महङगी, भ्रष्टाचार र बेथितिको अन्त्यको लागि एमालेको जितको विकल्प नभएको बताएका हुन । आगामि मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधि सभा सदस्य निर्वाचनमा नेकपा एमालेले दिगो विकासको अवधारणा भएका सक्षम उम्मेदवार उठाएको भन्दै घिमिरेले एमालेको जितको लागि आम जनताले मतदानको समय पर्खेको तर्क गरे । उनले भने, ‘गठबन्धनको सरकारले जनतालाई राहत हुने कुनै पनि काम गर्न सकेन । उसको ध्यान भनेको जनतालाई भन्दा विदेशि शक्तिलाई रिझाउनुमा छ । आजित जनताले यसको मुक्तिका लागि निर्वाचनको समयको प्रतिक्षा गरेका छन ।’

बैठकमा आफ्नो धारणा राख्दै नेकपा एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य तथा पाल्पा २ (१) का उम्मेदवार पर्सुराम भट्टराईले जिल्ला तथा प्रदेशको बृहत्तर हितका लागि आफुँलाई मतदान गर्न अनुरोध गर्नुभयो । पटक पटक जितेका सांसदले केहि काम नगरेको भन्दै टेस्टेडबाट जनता आजित भएकोले एमालेका उम्मेदवारको जित अपरिहार्य रहेको भट्टराईको भनाई छ ।






