नेपालले हवाई सुरक्षा परिपालनादर विश्वव्यापी भन्दा माथि अर्थात् ७० दशमलव एक प्रतिशत प्राप्त गरेको छ ।
अन्तर्राष्ट्रिय नागरिक उड्ड्यन सङ्गठन (आइकाओ) को अन्तिम अडिट प्रतिवेदन अनुसार नेपालले ७० दशमलव एक प्रतिशत प्राप्त गरेको हो ।
आइकाओको यो प्रतिवेदन नेपाल नागरिक उड्ड्यन प्राधिकरणले सार्वजनिक गरेको हो । नेपालले प्राप्त गरेको यो स्कोर ग्लोबल एभरेजभन्दा माथि हो ।
प्राधिकरणका अनुसार एसिया प्रशान्त क्षेत्रको उड्ड्यन सुरक्षादर ६४ दशमलव पाँच र विश्वव्यापी सुरक्षादर ६७ प्रतिशत रहेको छ ।
देशको हवाई क्षेत्रमा प्राप्त यो उपलब्धिप्रति अन्तर्राष्ट्रिय समुदायको चासो र सद्भाव बढेको छ ।
अहिले नेपालमा नौ फिक्सविङ र ११ हेलिकप्टर कम्पनीसहित कुल २० वायुसेवा कम्पनी सञ्चालनमा छन् ।
नेपालमा सबै प्रकारका गरी एक सय हाराहारी वायुयान छन् । त्यसमा झण्डै ८० जहाज र हेलिकोप्टर ४० वटा छन् । त्यस्तै अहिलेसम्म देशभर नौ सय ड्रोन दर्ता भएको प्राधिकरणले जनाएको छ ।
नेपालको हवाई क्षेत्रमाथि अन्तर्राष्ट्रिय निकायको चासो र सद्भाव बढ्नु सकारात्मक रहेको र यसले नेपालको नागरिक उड्ड्यन क्षेत्र विश्वव्यापी मापदण्डको छ भन्ने सन्देश गएको उहाँले उल्लेख गर्नुभयो ।
नेपालको हवाई क्षेत्रप्रति प्राधिकरणले आइकाओको सहयोगमा देशको हवाई सुरक्षा परिपालन दर ८० प्रतिशत कायम गर्ने लक्ष्यसहित देशको हवाई क्षेत्रको सुधारात्मक कामलाई प्राथमिकता दिएको छ ।
इयूले गएको १० वर्षदेखि नेपाललाई ‘उड्ड्यन सुरक्षा सूची’मा राखेको छ । यसअघि नेपालको हवाई उड्ड्यन सुरक्षामा जोखिम बढेको जनाउँदै आइकाओले सन् २०१३ मा नेपाली वायुसेवालाई गम्भीर सुरक्षा चासोको सूचीमा राखेको थियो । पछि सन् २०१७ मा नेपालले प्रगति गरेको भन्दै आइकाओले त्यो सुरक्षा सूचीबाट हटाएको थियो ।





