लक्ष्मी पूजा पनि आजै

यमपञ्चक अन्तर्गत आज धनधान्य, ऐश्वर्य र सम्पन्नताकी प्रतीक लक्ष्मीको पूजा आराधना गरी श्रद्धा भक्तिपूर्वक मनाइँदैछ । तिथिको हिसाबले भोलि मंगलबार लक्ष्मीपूजा हुनुपर्ने थियो । तर, भोलि ग्रहण रहेको कारण आज साँझ नै लक्ष्मीपूजा गरिदैँछ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले आज साँझ लक्ष्मी पूजाको लागि आह्वान गरेको छ ।

लक्ष्मीको पूजाको दिन घरमा बिहानै सफा सुग्घर तथा गाईको गोबर एवम् रातोमाटोले लिपपोतसँगै दीपावली गरेर लक्ष्मीलाई आमन्त्रण गरिन्छ । आज विशेषगरी घरका झ्याल, ढोका, कोठा, कौसीमा सृङ्गार गरी दीपावली गरिन्छ । लक्ष्मी पूजाका लागि आज बेलुका चामलको पीठो र अबिरले लक्ष्मीको पाइला बनाइ लक्ष्मी आउने बाटो बनाउने गरिन्छ ।

दीपावली गरिसकेपछि पूजा कोठामा दियो, कलश र गणेशसहित लक्ष्मी स्थापना गरेर गरगहना, पैसा, धान, चामल, फलफूल, सेलरोटी र फूलमाला चढाइ विधिपूर्वक लक्ष्मीको पूजा आराधना गरिन्छ । आज घरमा लक्ष्मीपूजा गरेपछि धनदौलत वा अन्य सामान घर बाहिर पठाए लक्ष्मी बाहिर जान्छिन् भन्ने धार्मिक विश्वास छ । आज बेलुका लक्ष्मीपूजा गरेपछि भैलो खेल्ने परम्परा रहेको छ ।

यसैगरी, कार्तिक ८ गते मंगलबार गाई तिहार रहेको छ । ९ गते गोवर्द्धनपूजा, बलीपूजा, हलितिहार, म्हपूजा, गोरुपूजा परेको छ भने सोहि दिनबाट नेपाल संवत ११४३ प्रारम्भ हुनेछ । यो वर्ष भाइटिका किजापूजा भने कार्तिक १० गते परेको छ । पञ्चाङ्ग समुहका अनुसार भाइटिकाको साइत विहान ११ बजेर ३७ मिनेटमा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?