चुनावको चटारोमा परेका उम्मेदवार र तिहारमा गाउँ चाहरेका देउसिरे समुहको भेट दुवैका लागि उपलब्धिमुलक देखिएको छ । भोट माग्न घरदैलोमा जान नपाएका उम्मेदवारले गाउँलेलालाई आफ्नै आगँनमा पाएका छन । उम्मेदवारले भैलो खेल्दै आएकाहरुलाई दक्षिणा संगै आफ्ना एजेण्डा पनि बाँडेका छन । उम्मेदवारहरु भैलो खेलेको देखेपछि सोहि ठाउँमा जाने समेत गरेका छन ।
नेकपा एमालेको तर्फबाट पाल्पा २ बाट प्रतिनिधी सभा सदस्यका लागि उम्मेदवारी दिएका ठाकुर गैरेले चुनावको मुखमा परेको तिहारले उम्मेदवारलाई जनताबिच आफ्ना कुराहरु राख्न सजिलो भएको बताए । ‘पर्वमा मानिसहरु यसै पनि जम्मा हुन्छन, उम्मेदवारका विषयमा उनिहरुबिच छलफल हुन सक्छ’ गैरेले भने, ‘हामि उम्मेदवारले पनि घरमै आएका भैलो संग आफ्ना एजेण्डाहरु सुनाउन पाएका छौँ, आफ्ना भिजन प्रश्ट बनाउने अवसर ठानेका छौँ ।’
उम्मेदवार गैरेसँग भैलोमा भेट हुन पाएको भन्दै बगनासकाली गाउँपालिका ९ चापपानिका भेषराज तिमल्सिनाले भट्याउनेले पनि उम्मेदवारलाई जितको आषिश दिएको बताए । उनले यसपटक उम्मेदवारले दक्षिणा पनि धेरै दिएको अनुभव सुनाए ।
त्यस्तै प्रतिनिधि सभा सदस्यमा पाल्पा २ मा गठबन्धनका उम्मेदवार सोमप्रसाद पाण्डेले पनि तिहारले चुनावको संघारमा थप आत्मियता बढाएको बताए । आफ्न्त, ईष्टमित्र, दाजुभाई दिदिबहिनी संगको सामुहिक देउसिभैलोमा मत माग्न पाउँदा हर्षित भएको पाण्डको भनाई छ । ‘एउटा ठुलो जमातलाई भैलो खेल्ने क्रममा भेट्न पाएका छौँ’पाण्डेले भने, ‘यो मेरा लागि महत्वपुर्ण उपलब्धि हो, प्रचार सामग्री पनि समुहमा बाँडन पाएका छौँ, उनिहरु हामिसंग सकारात्मक छन ।’
पाल्पा २ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रतिनिधी सभा सदस्यमा उम्मेदवारी दिएका सुमन गैरै आँफै पनि कलाकार भएका कारण देउसी भैलो समुहसंगै गित पनि गाउने गरेको बताउँछन । ‘म आँफै पनि केहि गितहरु गाएको छु कलासंग जोडिएको कुरा आयोकी सहभागी हुन मन लाग्छ’ गैरेले भने, ‘उहाँहरुसंग नाच्दा विजय उत्सव मनाय जस्तो लाग्छ ।’
निर्वाचन क्षेत्र नं. २ मा मंंगोल नेशनल अर्गनाइजेशनबाट मन बहादुर दर्लामी, राष्ट्रिय स्वतन्त्र पार्टीबाट गैरे, जनता समाजवादी पार्टीबाट दुर्पता सोमै, नेमकिपा बाट शिब सुन्दर धुरम्बा, नेपालआमा पार्टीबाट तारा बहादुर खत्री, राष्ट्रिय जनमुक्ति पार्टीबाट हुम बहादुर थापा, राप्रपा नेपालबाट खडानन्द गैरे, जन समाजवादी पार्टीबाट देव बहादुर हिस्की, नेपाली काँग्रेस विपीबाट श्रीधर न्यौपाने र स्वतन्त्रहरु उपेन्द्रराज गहिरे, केशर बहादुर आले, जीवलाल सुवेदी पनि देउसिरेहरुसंग मत मागिरहेका छन ।





