नेकपा एमालेका पोलिटब्यूरो सदस्य ठाकुरप्रसाद गैरेले गठबन्धन सरकारले मुलुकमा निकास दिन नसक्ने भन्दै मुलुकको विकास र समृद्धिका लागि एमालेका उम्मेदवारलाई विजयी गराउन अपिल गरेका छन । । उनले गठबन्धन विकासको बाधक भएको समेत बताएका छन । यो सरकारले बजेट बिनियोजन गरिएका योजना समेत काटेको भन्दै गैरेले यो सरकार र गठबन्धनका उम्मेदवारबाट विनास मात्रै हुने बताए । गैरे पाल्पा क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार हुन । रिब्दीकोट गाउँपालिकाको भैरवस्थान र देउरालीमा भएको चुनावी प्रचारप्रसार कार्यक्रम अन्तर्गत भएको घरदैलो तथा टोल भेलामा उनले भने,‘ सत्ता स्वार्थ बाहेक गठबन्धनको मुलुक बनाउने कुनै एजेण्डा छैन । राष्ट्रिय हितका लागि काम गर्ने एक मात्र पार्टी नेकपा एमालेलाई जिताउन मेरो आग्रह छ । सत्ता पक्षको गठबन्धन समृद्धि र विकासको बाधक छ ।’
पाल्पा क्षेत्र नम्बर २ को प्रदेशसभा २ का उम्मेदवार ओमबहादुर घर्तिमगरले यस क्षेत्रको सडक स्तरोन्नति, एक घर एक धाराको कार्यक्रमलाई आफ्नो कार्यकालमा समपन्न गर्ने बताएका छन । उनले धार्मिक पर्यटनको विकासका लागि रणनीतिक योजना तयार गरेर अगाडि बढ्ने धारणा राखे । साथै यहाँका युवालाई स्वरोजगार बनाउने खालका कार्यक्रमका लागि पहल गर्ने उनको प्रतिवद्धता छ ।

यस्तै पाल्पा क्षेत्र नम्बर २ १ का प्रदेशसभा सदस्यका उम्मेदवार परशुराम भट्टराईले राम्दी मेलामै पुगेर मत मागेका छन । हरिबोधनी एकादशीका दिन कालीगण्डकी किनारमा नुहाउन तथा पुजाआरधना गर्न पुगेका भक्तालुहरूसँग सूर्यमा मतदान गर्न आग्रह गरेका छन ।
सोही क्रममा उनले आँफू निर्वाचित भएर गएपछि रामनदी धामलाई व्यवस्थित गर्ने बताए । यहाँदेखि रानीघाट हुँदै रिडीसम्मको क्षेत्रलाई धार्मिक पर्यटकीय स्थलको रुपमा विकास गर्ने उनको धारणा छ ।
पाल्पा क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार नारायणप्रसाद आचार्यले राष्ट्र र राष्ट्रियता रक्षार्थको लागि एमालेले जित्नुपर्ने बताएका छन । माथागढी गाउँपालिकाको गोठादी र हात्तिलुङमा भएको घरदैलो तथा टोलभेला कार्यक्रममा उनले यस्तो बताएका हुन । उनले संविधानको रक्षा र कार्यान्वयन गर्न, शान्ति, स्थिरता र विकास कायम गर्न, शान्ति, स्थिरता र विकास सुनिश्चित गर्नका लागि आसन्न निर्वाचनमा नेकपा एमालेलाई जिताउन अनिवार्य रहेको बताए ।
पाल्पा क्षेत्र नम्बर १ प्रदेशसभा १ का उम्मेदवार राजुप्रसाद श्रेष्ठले रामपुर नगरपालिका–५ बेझाड, मटेरी, बहखोला, राङभाङमा घरदैलो कार्यक्रम गरेका छन । आँफू निर्वाचित भएपछि नयाँ ट्रयाक खोलिएका सडकको स्तरोन्नति गर्ने र बाँकी सडकलाई आवश्यकताअनुसार ग्राभेल र कालोपत्रे गर्ने उनले बताए । यहाँका युवालाई स्वरोजगार बनाउनका लागि प्रभावकारी कार्यक्रमका लागि पहल गर्ने बताए ।
पाल्पा क्षेत्र नम्बर १ प्रदेशसभा २ का उम्मेदवार खेमबहादुर सारुले इतिहास बोकेको माथागढीलाई धार्मिक पर्यटकका लागि आकर्षक बनाउने बिचार राखेका छन । साथै यहाँको कृषि र सिँचाईको क्षेत्रमा विशेष कार्यक्रम सञ्चालनका लागि जोड दिने उनको योजना छ ।





