ट्राफिक प्रहरीले काठमाण्डौको जगाती क्षेत्रमा विशेष जाँच गरेको छ । काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथ, लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वर, नेपाल प्रहरी अस्पताल, प्रहरी वृत्त जगातीको संयुक्त टोलीले जाँच गर्ने क्रममा लागुऔषध खाएर गाडी चलाएका ४ जना पक्राउ परेका छन् ।
भक्तपुरको जगाती सडक खण्डमा बा ४ ख १९५६, बा २४ प ११४६, बा ७६ प ५३८६ र प्रदेश ३–०२–००६ प ८२६ नम्बरको गाडीका चालक पक्राउ परेका हुन् । उनीहरुलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि प्रहरी वृत्त जगातीमा राखिएको काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले जानकारी दिनुभयो।
जगातीबाटै जाँडरक्सी खाएर चलाएका दुई जना चालक पनि ट्राफिक प्रहरीको कारबाहीमा परेका छन् । चालकले लागुऔषध खाएर गाडी चलाए/नचलाएको सम्बन्धमा प्राविधिक टोलीसहित साउन ९ गतेदेखि ट्राफिक प्रहरीले जाँच अभियान सुरु गरेको थियो । पछिल्लो समय लागुऔषध खाएर गाडी चलाउनेको सङ्ख्या बढेको पाइएको छ।
जाँडरक्सी र लागुऔषध खाएर गाडी चलाउँदा दुर्घटना हुनुको साथै मानव स्वास्थ्यमा समेत नकरात्मक असर पर्ने भएकाले जाँच थालेको प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले बताउनुभयो।





