नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारमा गएको १६ महिनामै देशलाई ‘कंगाल’ बनाउने स्वार्थसमूहहरूको गठजोडलाई निर्वाचनमा पराजित गर्नुपर्ने बताएका छन् ।आज शनिबार काठमाडौंमा एमालेको प्रवास संगठन प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटीको पहिलो अधिवेशन उद्घाटन गर्दै अध्यक्ष ओलीले कुनै भिजन र उद्देश्य नभएको स्वार्थहरूको गठजोडलाई पराजित गर्नुपर्ने बताएका हुन् ।
उनले गठबन्धको घोषणापत्र जनता अलमल्याउने खेल मात्रै भएको तर्क गर्दै परमादेशबाट सरकारमा गएको १६ महिनामै गठबन्धन सरकारले देशलाई कंगाल बनाउने काम गरेको आरोप लगाएका छन् । आगामी निर्वाचनमार्फत गठबन्धनले जनादेशबाट सरकार बनाएमा मुलुक लुटतन्त्रमा भासिने भनाई ओलीको छ ।उनले पद नपाएकै कारण गठबन्धनमा रहेका दलहरू कांग्रेसको पछि लागेको र मुलुकलाई समेत अस्थिरताको भूमरीमा फसाएको आरोप लगाएका छन् । अहिले भिजनसहितको बलियो शक्ति राष्ट्रलाई चाहिएकाले सबै हिसाबले समर्थनवान भएको पार्टी एमालेमात्रै रहेको दाबी ओलीको छ ।
उनले नेकपा एमालेबाहेक अरु कुनै बलियो शक्ति मुलुकमा आउनै नसक्ने भन्दै आगामी निर्वाचनपछि एमाले एक्लैले बहुमतको सरकार बनाउने दाबी पनि गरेका छन् । ओलीले एमाले सरकारले राष्ट्रिय स्वाधीनता र विकासका लागि धेरै काम गरेको जिकिर गरेका छन् ।





