पाल्पा क्षेत्र नं २ का वाम–लोकतान्त्रिक गठबन्धनका उम्मेदवारहरुले पश्चिम पाल्पालाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्ने बताएका छन् । उनीहरुले रिब्दीकोट र रैनादेवी छहरामा थुप्रै पर्यटकीय सम्भावनाका क्षेत्रहरु रहेको भन्दै तिनीहरुको उचित संरक्षण र प्रवद्र्धन गर्दै पर्यटकीय गन्तव्यका रुपमा विकास गर्ने अठोट लिएका हुन् ।
सोमबार उनीहरुले रैनादेवी छहराको मुझुङ र सोमादीमा गठबन्धनको सम्पर्क कार्यालयको उद्घाटन गर्दै निर्वाचनपछि बन्ने गठबन्धनको सरकारले पश्चिम पाल्पालाई पर्यटकीय गन्तव्यको रुपमा विकास गर्ने बताएका हुन् । पाल्पा क्षेत्र नं २ प्रतिनिधि सभा गठबन्धनका साझा उम्मेदवार तथा नेकपा एकिकृत समाजवादीका पोलिटव्यूरो सदस्य सोम प्रसाद पाण्डेयले मुझुङ्गको कटौजेपानी, देउराली लगायतका क्षेत्रहरुको विकास र विस्तार गरी पर्यटकीय गन्तव्य बनाउने प्रण गर्नुभयो । उहाँले यस क्षेत्रको विकासको गुरुयोजना बनाएर भौतिक तथा आर्थिक रुपमा विकास गर्ने बताउनुभयो । पूर्व उद्योग मन्त्री समेत रहेका पाण्डेयले आफूले यस क्षेत्रमा सुन्तला खेती, कृषि, व्यवसायिक पशुपालनलाई समेत प्राथमिकतामा राखेर काम गर्ने बताउनुभयो ।
प्रदेश सभा पाल्पा का उम्मेद्वार तुलाराम घर्ती मगरले पनि यहाँ थुप्रै हेर्न र घुम्न लायक स्थानहरु रहेकाले त्यसकने विकास र विस्तार गरी पर्यटनको केन्द्र बनाउने दिशामा आफुु लाग्ने उद्घोष गर्नुभयो । घर्तीले यस क्षेत्रको पर्यटन र कृषिको विकासका लागि गठबन्धनका उम्मेदवारलाई विजयी गराउन समेत मतदाताहरुलाई आग्रह गर्नुभयो । कार्यक्रममा गठबन्धनका संयोजक तथा नेपाली काँग्रेस पाल्पाका सभापति हिमालदत्त श्रेष्ठले सत्तामा पुगेर मन्त्री बन्नका लागि नभएर पाल्पा र समग्र मुलुकको विकास र समृद्धिका लागि गठबन्धनका उम्मेदवारहरुले जित्नै पर्ने बताउनुभयो ।
नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्यद्वय पुरन केसी, अनिल किशोर घिमिरे, जिल्ला संयोजक राजेन्द्र प्रसाद विश्वकर्मा, नेपाली काँग्रेसका केन्द्रीय सदस्य हरीप्रसाद नेपाल, युवा नेताहरु रामबहादुर कार्की, राम कार्की, काँग्रेसका वरिष्ठ नेता राजेन्द्र गोपाल सिंह, एकिकृत समाजवादीका केन्द्रीय सदस्य तथा पूर्व सांसद यादव बहादुर रायमाझी, राष्ट्रिय जनमोर्चाका विशाल दर्लामी, चिरञ्जीवी पोखरेल, ठाकुर प्रसाद नेपाल लगायतले यस क्षेत्रको विकासमा आफूहरुले प्रतिवद्धता गरेका अनुसारका काम गर्न यसपाली गठबन्धनका उम्मेदवारहरुलाई मत दिन आग्रह गर्नुभयो । यस्तै प्रदेश सभा क्षेत्र नं २ का उम्मेदवार, नेपाली काँग्रेस पाल्पाका निवर्तमान सभापति तथा लुम्बिनी प्रदेशका उर्जा जलस्रोत तथा सिंचाई मन्त्री वीरबहादुर रानाले अधुरा योजना पुरा गर्दै महिलालाई स्वरोजगार बनाउने बताउनुभयो ।
सोमबार तानसेन नगरपालिका ५ का विभिन्न टोल र बगनासकालीमा भएको महिला भेलालाई सम्बोधन गर्दै उनले आफ्नो कार्यकालमा सुरु गरेका अधुरा योजनाहरु सम्पन्न गर्ने र महिलाहरुलाई स्वरोजगार बनाउने दिशामा लाग्ने बताउनुभएको हो ।





