पाक्षिक रुपमा स्वास्थ्य शिविर गर्दै आएको रिब्दिकोट गाउँपालिकाले यहि चैत्र १८ गते बृहत स्वास्थ्य शिविर गर्ने भएको छ । स्वास्थ्य सेवाबाट पालिका भित्रै जनतालाई लाभान्वित गराउने उद्वेशयले शिविरको आयोजना गरिएको गाउँपालिकाका अध्यक्ष नारायण बहादुर कार्कीले बताए । ‘स्वास्थ्य सेवा सजिलो गरि सबै जनताले पाउनुपर्छ भन्ने हाम्रो मान्यता हो’ अध्यक्ष कार्कीले भने, ‘विभिन्न संस्थाहरुको समन्वयमा निशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको हो ।’ अध्यक्ष कार्कीले सबै खाले रोगको परिक्षण र औषधि समेत निशुल्क वितरण गरिने बताए । रोटरी क्लबको प्राविधिक सहयोगमा शिविर हुन लागेको हो । रिब्दिकोट ७ बतासे स्थित कालिका माध्यामिक बिद्यालयमा शिविर हुनेछ । १४ जना विभिन्न रोगका बिशेसज्ञ चिकित्सकहरुले शिविरमा सेवा दिने बताईएको छ ।
नाक कान घाँटी, बालरोग, महिला रोग, दन्तरोग र हाडजोर्नी बिशेसज्ञहरुले शिविरमा सेवा दिने रिब्दिकोट गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख सुनिल अधिकारीले जानकारी दिए । जनरल सर्जरी, रेडियोलोजिस्ट, फिजिसियन, ल्याव सेवा तथा परामर्श सेवा पनि शिविरमा रहने बताईएको छ ।
शिविरबाट १ हजार बढिले सेवा लिने अनुमान गरिएको छ । पाक्षिक रुपमा गरिएको शिविरमा अहिलेसम्म ७ सय बढिले सेवा लिएका छन । गाउँपालिकाको समन्वयमा निशुल्क शिविरबाट सेवा प्राप्त गर्न पाउँदा रिब्दिकोट बासि खुशि भएका छन ।





