खानेपानीको चरम अभाव भोगिरहको धरानमा मेयर हर्क साम्पाङले श्रमदान अभियान चलाएर करिब ४२ किलोमिटर दुरीबाट कोकाहा खोलाको पानी ल्याउन सफल भएका छन्।
श्रमदान अभियान शुरु गरेको ९८ औं दिनमा गएको मध्यराती कोकाहाको पानी धरान २० स्थित पकुवा खोलामा खसालेर वास आउट गरिएको हो। राजनीतिक दल, दलका नेताहरु एवं मेयर साम्पाङका आलोचकहरुले निरन्तर आलोचना गरिरहे पनि श्रमदान अभियानबाट नै कोकाहाको पानी ल्याउन मेयर साम्पाङ सफल भएका हुन्।
मध्यराती १२ बजेर ३ मिनेटमा कोकाहाको पानी पकुवा खोलामा वास आउट गर्न खसालिएको श्रमदान अभियानका प्रोजेक्ट मेनेजर दत्तकुमार लिम्बुले जानकारी दिए। उनले भने,‘मानिसहरुले हामीलाई अनेक कुराहरु गरे, विरोध गरे तर कोकाहाको पानी ल्याएरै छोड्यौं।’
कोकाहा खोलाको मुहान धरानको वडा नं २० स्थित हात्तिसारमा नै पर्छ। उक्त मुहान क्षेत्रबाट भञ्ज्याङ लिफ्ट गरेर पानी ल्याउन सकिने भएपनि विजुलीमा अत्यधिक खर्च हुने भएपछि मेयर साम्पाङले विकल्पमा ग्राभेटि फ्लो मार्फत नै पाइपलाइन विछ्याएर पानी ल्याएका हुन्। पाइपलाइन छिमेकी नगर बराहक्षेत्रको भुभाग हुदै करिब ४२ किलोमिटर विछ्याइएको छ। गएराती पानी खसेको पकुवा खोलासम्म ३५ किलोमिटर दुरी रहेको धरान खानेपानी व्यवस्थापन बोर्डका सबइञ्जिनियर सुसन थापाले जानकारी दिए।
कठिन पहाडी भुभाग कटेर मानव वस्तीसम्म पानी आइपुगेको हो। अब करिब ७ किलोमिटर दुरीमा मात्र सुम्निमा र स्वास्तिका ट्यांकी छ। पाइपलाइन विस्तार भइसकेकोले वास आउट गरिसकेपछि पानी ट्यांकमा पुर्याइनेछ।





