कार्यालय आएर हाजिर गरेर फर्कने गरेको गुनसो आएपछि राष्ट्रिय सतर्कता केन्द्रले सिंहदरबारमा आकस्मिक अनुगमन गरेको छ । बिहीबार केन्द्रको अनुगमन टोलीले सिंहदरबारका सबै गेटमा बसेर सिंहदरबारबाट बाहिरिने कर्मचारीसंग सोधपुछ गरेर आवश्यक रेकर्ड राखेको थियो । सिंहदरबारभित्र काम गर्ने कर्मचारीले बिहान कार्यालय प्रवेश गरेर हाजिर गरेर बाहिरिने र अपरान्ह पुन: हाजिर गर्नका लागि मात्रै जाने गरेको गुनसो आएपछि अनुगमन गरिएको केन्द्रले जनाएको हो । अनुगमनका क्रममा सबैको रेकर्ड राखिएको र त्यसलाई अध्ययन गरेपछि सम्बन्धीत मन्त्रालयमा लेखेर पठाइने बताइएको छ । अनुगमनका क्रममा बाहिरिने कर्मचारीहरुले अस्पताल जान लागेको, खाना खान जान लागेको, चिठी पुर्याउन जान लागेको लगायतका विवरण टिपाएका थिए ।





