पत्रकार नेत्र पन्थीको एक नयाँ किताब भर्खरै बजारमा आएको छ- लेफ्ट-राइट : सत्ता र शक्तिको ‘अ’राजनीति । गैरआख्यान, त्यसमा पनि समकालीन इतिहास र ‘इनसाइड स्टोरी’ हरू पुस्तकाकारमा कमै लेखिने प्रचलन बीच यो किताबलाई आधार मानेर देशको राजनीतिक प्रवृत्ति र संस्कृतिबारे धेरै प्रकारको बहस उठाउन सकिने रहेछ । पुस्तकमा पत्रकार पन्थी ‘माओवाद र माओवादी’ लाई केन्द्रविन्दु बनाएर यसरी फन्को मार्छन् कि देशको समग्र राजनीतिकै गर्भगृहका घटनाक्रम, पात्र, प्रवृत्ति र मनोवृत्तिहरूको कल्पनीय/अकल्पनीय, दुवै प्रकारको चित्र प्रष्ट भएर आउँछ । त्यसो त यस प्रकारको उनको यो पहिलो किताब हैन । यसअघि नै उनले तीन वटा किताब लेखिसकेका छन्, झण्डै उस्तै विषय र प्रकृतिका । युद्धमा प्रेम र यौन (२०६६), माओवादीभित्र अन्तरसंघर्ष (२०६९), डिभोर्सः प्रचण्ड र बाबुरामको (२०७२) लेखिसकेका पन्थी नेपालको ‘माओवाद र माओवादी’ आन्दोलनका ‘लेखन–विशेषज्ञ’ जस्तो भइसकेका छन् । माओवादी आन्दोलनप्रति उनको रुचि जति गहिरो देखिन्छ, आलोचनात्मक दृष्टि पनि उत्तिकै तिखो पाइन्छ । उनले २०७२ मा डा. बाबुराम भट्टराईले माओवादी परित्याग गरी नयाँ शक्ति पार्टी खोल्ने तरखर गरिरहँदा प्रचण्ड र बाबुरामको ‘डिभोर्स’ लेखेका थिए । त्यो बेला पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको ‘क्रेज’ आजको भन्दा धेरै बढी थियो । उनले नयाँ शक्ति खोल्नु भन्दा ‘माओवादी छोड्नु’ लाई धेरै ठूलो र अर्थपूर्ण घटना मानिएको थियो ।
आजको विन्दुबाट फर्किएर हेर्दा ती घटना उत्तिकै अर्थपूर्ण लाग्दैनन् बरु ‘फास्स न फुस्स’ जस्तो लाग्दछन् । त्यो बेलाको डिभोर्स अहिले पुनर्विवाहमा परिणत हुने संभावना बढेको छ । पत्रकार पन्थीले आफ्नो लेखन श्रृंखलालाई कायम राख्ने हो भने ‘पुनर्विवाहः प्रचण्ड र बाबुरामको’ लेख्नुपर्ने होला ! अहिले बजारमा आएको ‘लेफ्ट–राइटः सत्ता र शक्तिको ‘अ’राजनीति’ चाहिं मूलतः प्रचण्ड केन्द्रित छ । सकारात्मक अर्थमा भन्दा यसलाई ‘प्रचण्ड नायकत्वको तस्वीर’ भन्न सकिन्छ । मैले भने यहाँ आलोचनात्मक शीर्षक राखेको छुः प्रचण्ड–अवसरवादको प्रामाणिक अभिलेखन । तर, सुरुवातमै यो प्रष्ट पार्न जरूरी होला कि शीर्षकमा उल्लेख गरिएको ‘प्रचण्ड’ को अर्थ वर्तमान प्रधानमन्त्री तथा सदाबहार माओवादी सुप्रिमो पुष्पकमल दाहाल मात्रै हैन । प्रचण्ड शब्दको अर्को पनि अर्थ हुन्छ जस्तो कि प्रचण्ड गर्मी, प्रचण्ड–रापताप, प्रचण्ड–प्रताप आदि । नेपाली राजनीतिको अवसरवाद त्यो प्रचण्डको मात्रै अवसरवाद हो भनियो भने उनीमाथि ठूलो अन्याय मात्र हुँदैन, सत्यको सही चित्रण र अभिलेखन पनि हुँदैन । नेपाली राजनीतिमा ‘प्रचण्ड गर्मी’ भनेजस्तै ‘प्रचण्ड–अवसरवाद’ छ । अवसरवाद यति प्रतापी छ कि कुनै बेलाका ‘भूपति’ समेत यति प्रचण्ड–प्रतापी थिएनन् । अर्को कुरा- अवसरवाद यति बलियो कहिल्यै थिएन, जति २०७० को दशकमा आएर भयो । हुनतः २०५० को दशकले पनि ‘संसदीय विकृतिको युग’ भन्ने संज्ञा पाएकै हो । त्यो विकृतिका भिन्नै तत्व थिए– प्राडो, पजेरो, पुरुष सांसदलाई सुत्केरी भत्ता, सांसद किनबेच, सुरा, सुन्दरी र नीलो सिनेमा आदि । २०७० को दशकमा उदाएको अवसरवाद भने त्योभन्दा जब्बर देखिन्छ । पत्रकार पन्थीको किताबले पहिलो अध्यायमै प्रचण्ड-अवसरवादको पराकाष्ठालाई उत्खनन गर्दछ । गत वर्ष मंसिर ४ गतेको आम चुनावमा माओवादी कांग्रेस सहितको पाँचदलीय गठबन्धनमा थियो । त्यसले एमाले नेतृत्वको तालमेल विरुद्ध चुनाव लडेको थियो । मुख्य मुद्दा थियो- तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको दुई-दुई पटकको असंवैधानिक संसद विघटन । पाँचदलीय गठबन्धनले त्यसलाई ‘ओली प्रतिगमन’ को संज्ञा दिएको थियो र यो जनादेशको एक महत्वपूर्ण आधार मानिएको थियो ।
तर, चुनाव सकिएलगत्तै पुस १० गते प्रचण्ड बालुवाटारबाट उछिट्टिएर बालकोटको बार्दलीमा देखापरे । विना मुलाहिजा र लज्जा उनले ओलीबन्धनको ‘सात फेरो’ लगाए । त्यो दृश्य सबैलाई आश्चर्यचकित पार्ने खालको थियो । तथापि मान्छेले मन मिचेर हेरे, बाध्यताले पचाए । मान्छेलाई लाग्यो अब चाहिं प्रचण्ड ओलीबन्धनको निष्ठामा बस्छन् होला । फेरि नेकपा (नेकपा) ब्युँताउनतिर लाग्दछन् होला । तर, मधुमास अवधि भनिने १०० दिन नबित्दै फागुन ११ गते उनी कांग्रेससँगकै सहवासमा फर्किए । संसार लजायो तर प्रचण्ड लजाएनन् । प्रचण्ड-अवसरवादको लज्जा नगरबधुको क्षणिक हिचकिचाहटभन्दा बलियो हुँदैन भन्ने उनले पुष्टि गरिदिए, इतिहासमै लाहाछाप लाग्ने गरी । पत्रकार पन्थीको खुलासा छ कि प्रचण्डले बालकोट गठबन्धन बनाएको ३७ औं दिनको मध्यरात बालुवाटारमा कांग्रेससँग यस्तो सहमति बनाइसकेका थिए । फागुन ११ त त्यसको अनावरण मात्रै थियो, काम तमाम त माघ १७ गते मध्यरात बालुवाटारको एक गोप्यकोठामा भइसकेको थियो । जम्मा ६ जना मानिस थिए त्यहाँ । कांग्रेसबाट सभापति देउवा, उनका विश्वासपात्र पूर्णबहादुर खड्का र पत्नी आरजू राणा । माओवादीबाट स्वयं प्रचण्ड, जनार्दन शर्मा र प्रचण्डपुत्री गंगा दाहाल । एमालेसँगको गठबन्धन तोड्ने र कांग्रेसलाई राष्ट्रपति दिने यो रातको सहमति टाइप गराउँदा कम्प्युटर अपरेटरबाट लिक हुने डरले हातले लेखेर गरिएको थियो । यस्ता दर्जनौं अन्तर्यका कथाहरूले भरिएको छ पन्थीको किताब ।
प्रचण्ड-अवसरवादको यो स्तरको चलखेल संभव हुन्थेन जब ओली र देउवामा यसको मोह हुँदैनथ्यो । ओलीले पुस १० गते बार्दलीबाट रित्तोहात फिर्ता पठाइदिन सक्थे । देउवाले ‘जारी तिरेर’ फिर्ता ल्याउन यति धेरै मरिहत्ते नगर्दा हुन्थ्यो । अर्थात् प्रचण्ड–अवसरवाद प्रचण्डको मात्रै समस्या थिएन ओली र देउवाको नियत र नियति पनि उस्तै थियो । अझ गहिरो गरी हेर्ने हो भने यो आम चरित्र हो । माधव नेपाल, झलनाथ खनाल र वामदेव गौतमको कुरा पनि उस्तै हो । ओलीसँग विद्रोह गरेर मात्र यिनीहरूको राजनीतिक कर्तव्य पूरा हुँदैनथ्यो । कांग्रेस-माओवादीसँग टाँसिएर दुई-चार सीट हात पार्नकै लागि त विद्रोह नै आवश्यक थिएन । विद्रोह त्यतिखेर मात्र सार्थक हुन्थ्यो, जब उनीहरूले विचार, संगठन र आन्दोलनलाई नयाँ ढंगले पुनर्गठित गर्ने आँट गर्थे । देशलाई कुनै न कुनै ढंगले नयाँ आश र निकास दिने साहस जुटाउँथे । तर, उनीहरू त ओली विरुद्ध प्रयोग भएका देउवा-दाहालका प्यादा मात्र सावित भए । यहाँसम्म कि यस कित्ताका ‘नयाँ, बौद्धिक र संभावनायुक्त’ भनिएका घनश्याम भूसालमा पनि उस्तै अवसरवाद देखियो । फुट्नुपर्ने बेला फुट्ने आँट नगर्ने, चुनावको टिकटका लागि ओलीको छद्म गुणगान र माधव-झलनाथलाई ‘पार्टी फोडेको पाप लाग्छ’ भ बस्ने, टिकट नपाउँदा तुरुन्तै स्वतन्त्र हुने र फेरि त्यही सानो समूहमा प्रवेश गरेर ‘महासचिव’ पड्काई हाल्नुपर्ने ? के साह्रो अधीरता ? डा. बाबुराम भट्टराईमाथि लाग्ने सबैभन्दा ठूलो आरोप पनि यही हो कि उनी अस्थिर, अन्योलग्रस्त र ढुलमुले छन् । वयस्क जिन्दगीको लामो हिस्सा एक चरम वामपन्थी कम्युनिष्ट पार्टीमा बिताउने, त्यसको रणनीतिकार र योजनाकार भएको गौरव र दाबी गर्ने, जीवनको उत्तरार्धमा ‘कम्युनिष्ट पार्टी र विचारको काम छैन’, ‘यो रातो स्टिकर टाँसेको घर हो’ भन्दै नयाँ शक्ति खोलेर ‘वैकल्पिक राजनीति’ को कुरा गर्ने, त्यसको निष्ठामा बस्न सकस मानेर कहिले यता र कहिले उता गर्ने, चुनावैपिच्छे दुई चार सीट खोज्न हिंड्ने उनको तरिका जनता र मतदाताले मात्र हैन, उनलाई माया गर्ने उनकै शुभेच्छुक र समर्थकले समेत फिटिक्कै मन पराएनन् । फलतः उनको व्यक्तित्वको ‘स्व-ध्वंस’ भयो । कमल थापा, राजेन्द्र लिङ्देन वा रवीन्द्र मिश्रको अवसरवादको कुरै गर्न परेन । थापाले एमालेको सूर्यचिह्नबाट चुनाव लडेर अवसरवादको अद्वितीय उदाहरण प्रस्तुत गरिदिए । लिङ्देनले आफ्नो चुनावी वाचा विपरित हतारिएर ‘गणतन्त्रवादी प्रचण्ड सरकार’ मा सामेल हुन, मिश्रले आफ्ना हजारौं साथी र समर्थकलाई अलपत्र पार्दै वैकल्पिक राजनीतिको अग्लो हिमालदेखि राजावादी लाइनको अँध्यारो खोचमा हामफाल्न किञ्चित लाज मानेनन् ।
मधेशकेन्द्रित धारमा महन्थ ठाकुर, राजेन्द्र महतो र उपेन्द्र यादवको नियति पनि उस्तै हो । यी कतिखेर कुन गठबन्धन र तालमेलमा पुग्दछन्, कतिखेर कससँग पार्टी जोड्दछन् र फोड्दछन्, कसैले भन्न सक्दैन । यिनीहरूको निर्णयको ‘रिमोट’ कहाँ छ भन्ने बुझ्दा नबुझ्दै मान्छेको जुनी जान्छ । नयाँ आएका डा. सीके राउतको अवसरवाद झनै उखारखातको छ । राजनीतिक प्रोपोगाण्डाका लागि उनले केही वर्ष पृथकतावादको सहारा लिए । अहिले ‘स्वराज’ भन्छन् । ‘स्वतन्त्र मधेश’ र ‘स्वराज’ बीच कुनै भिन्नता छ वा छैन उनी प्रष्ट गर्न सक्ने हैसियतमा छैनन् । उनी पनि राजेन्द्र लिङ्देनझैं हतारिएर प्रचण्ड सरकारमा गए, उद्योग मन्त्रालय नपाएको भन्दै सरकार छोडे । अहिले उनी सत्तापक्ष हुन् वा विपक्ष सायद उनैलाई थाहा छैन । नयाँ भनिएको रास्वपा र यसका नेता रवि लामिछानेले पनि छोटो समयमै उत्तिकै प्रचण्ड–अवसरवाद देखाए । चुनावमा ‘बाहरू घर बस, नो नट अगेन’ भन्ने नारा लगाए । चुनाव सकिने वित्तिकै ‘बार्दलीका बा, देउवा वा नानीका बा’ जो भए पनि हुन्छ भन्दै घरदैलो चहार्न थाले । सांसद खुस्किएको बेला पनि ‘गृहमन्त्री माग्ने’ भए । नपाएको झोंकमा सरकारबाट बाहिरिएर ‘प्रतिपक्षी बन्न बाध्य’ भूमिका गर्दैछन् ।





