कसैलाई तर्साउन र कसैसँग मुकाबिला गर्न समाजवादी मोर्चा बनाएकाे हाेइन : माधव नेपाल

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले कसैसँग मुकाबिला गर्नका लागि समाजवादी मोर्चा निर्माण नगरेको बताउनुभएको छ । कांग्रेसलाई तर्साउन र एमालेसँग मुकाबिला गर्नका लागि मोर्चा बनाउन लागिएको टिप्पणी एमाले अध्यक्ष केपी ओलीले गरेको स्मरण गराउँदै उहाँले यस्तो भनाइ राख्नुभएको हो ।

सोमवार काठमाण्डाैमा आयोजित ‘समाजवादी मोर्चा नेपाल’ घोषणा कार्यक्रममा अध्यक्ष नेपालले प्रतिगमनका विरुद्धमा भने मोर्चाले डटेर सामना गर्ने बताउनुभयो । मोर्चा कसैलाई तर्साउन र मुकाबिला गर्नका लागि नभएको उहाँकाे भनाइ थियाे । उहाँले प्रतिगमनका पक्षमा नभएकाहरू मोर्चासँग डराउन सक्ने जिकिरसमेत गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘यो मोर्चा स्वार्थको मोर्चा होइन । यो मोर्चा सिद्धान्तहीन मोर्चा होइन । यो मोर्चा विचारहीन मोर्चा होइन । यसको प्रस्ट उद्देश्य छ । हामी प्रतिगमनका विरुद्धमा र यथास्थितिको विरुद्धमा परिवर्तनका लागि एकताबद्ध हुने सम्पूर्ण देशभक्तहरू र समाजवादी शक्तिहरूलाई एकताबद्ध बनाएर लैजान चाहन्छौँ । केही केही नेताहरूलाई याे माेर्चा कसैलाई तर्साउन र कसैको मुकाबिला गर्न बनाइएकाे हाे भन्ने लागेकाे रहेछ । तर याे माेर्चा कसैलाई तर्साउन र कसैको मुकाबिला गर्नका लागि पनि होइन ।’

अध्यक्ष नेपालले अग्रगमनका पक्षधर सबै शक्तिहरूलाई मोर्चामा आबद्ध हुन पनि आह्वान गर्नुभयो । सत्तापक्ष र सत्ताबाहिर रहेका दल सहभागी रहेको मोर्चाले सबै शक्तिहरूलाई समेटने सामर्थ्य राखेकाे उहाँले दाबी गर्नुभयाे । समाजवादी शक्तिमा रहेका नागरिकको प्रभावलाई विस्तार गर्न पनि आफूहरूले याे मोर्चा बनाएर अघि बढ्ने निर्णय लिएको उहाँकाे भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?