गुल्मीका १२ वटै पालिकामा कफी, सुन्तला, बाख्रा र मकैको क्षेत्र विस्तार गरिने भएको छ । प्रधानमन्त्री तथा कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ गुल्मीको आयोजनामा सञ्चालित जोन तथा सुपर जोन कार्यक्रमअन्तर्गत ३२ वटा वडामा क्षेत्र विस्तार गरिने भएकाे हो ।
अनुगमन समितिले गुल्मीकाे चन्द्रकोट गाउँपालिकाअन्तर्गत वडा नम्बर २, ३ र ४, कालीगण्डकीको १ र ४, सत्यवतीको ८, छत्रकोटको १ र २, रुरुक्षेत्रको ४, गुल्मीदरबार गाउँपालिकाको १ र रेसुङ्गा नगरपालिकाको १४ सहित ११ वटा वडामा सुन्तला जात फलफूलका लागि क्षेत्र विस्तार गरिने भएको हो ।
त्यसैगरी कफी सुपर जोनका लागि कालीगण्डकी गाउँपालिकाको वडा नम्बर ३ र ४ र चन्द्रकोट गाउँपालिकाको ६ गरी तीन वटा वडामा कफीको क्षेत्र विस्तार गर्न लागिएको हो । अनुगमन समितिले बाख्रा जोन कार्यक्रमअन्तर्गत मालिकाको वडा नम्बर ५ र ८, मदानेको ४ र ७, इस्माको १ र ३ तथा धुर्कोटको ४ र ५ मा क्षेत्र विस्तार गर्ने जनाएको छ । त्यसैगरी मकै जोन कार्यक्रमअन्तर्गत मुसिकोट नगरपालिकाको वडा नम्बर २, ३ र ४, चन्द्रकोटको ४, छत्रकोटको ३ र ५ एवम् गुल्मीदरबारको ३ र ४ लाई मकैको क्षेत्र विस्तारमा राखिएको छ ।
जिल्ला परियोजना कार्यान्वयन समन्वय तथा अनुगमन समितिको सिफारिसमा परियोजना व्यवस्थापन एकाइ खुमलटारमा क्षेत्र विस्तारका लागि सिफारिस गरिएको प्रधानमन्त्री तथा कृषि आधुनिकीकरण परियोजना गुल्मीकी प्रमुख गङ्गाकुमारी पोखरेलले बताउनुभयो ।
समितिले गरेको क्षेत्र विस्तारका लागि छनोटका अधारहरूमा सम्बन्धित पालिकाकाे सिफारिस, प्राविधिक कार्यदलको अध्ययन प्रतिवेदन र परियोजनाबाट अवसर नपाएका व्यक्तिलगायतका मापदण्डहरू बनाइएको जिल्ला परियोजना कार्यान्वयन समन्वय तथा अनुगमन समितिका संयोजक एवम् जिल्ला समन्वय समिति गुल्मीका प्रमुख द्रोणबहादुर खत्रीले जानकारी दिनुभएको छ ।
परियोजनाद्वारा विगत वर्षमा जिल्लाको १२ पालिकामध्ये मकै जोनमा १८, बाख्रा जोनमा १०, कफी सुपर जोनमा ४२ र सुन्तला जात फलफूलमा २४ गरी ९४ वटा वडामा याे कार्यक्रम सञ्चालन हुँदै आएको थियो । क्षेत्र विस्तारका लागि सिफारिस समितिको बैठकमा जिल्लामा रहेका पालिकाका प्रमुख तथा प्रतिनिधि एवम् सरोकारवाला विभिन्न सङ्घ–संस्थाकाे सहभागिता थियो ।





