मनसुन सक्रिय भएपछि किसानलाई राहत : कतै रोपाइँ सुरु, धेरै ठाउँमा तयारी चल्दै

असार सुरु भएसँगै काठमाण्डाै उपत्यकासहित देशभर किसानहरु रोपाइँमा व्यस्त हुन थालेका छन् । काठमाण्डाै उपत्यकासहित धेरैजसो ठाउँमा पानी पर्न थालेपछि किसान धान रोपाइँ तथा तयारीमा जुटेका हुन् ।  गएको जेठ ३१ गते नेपाल भित्रिएको मनसुन एक हप्तापछि देशभर फैलिएको थियो । मनसुन सक्रिय भएसँगै पानी पर्न थालेपछि किसानलाई राहत भएकाे छ ।

भक्तपुरको निकोसेरामा पनि यतिबेला किसानहरु धान रोप्न व्यस्त छन् । उनीहरु जेठकाे अन्तिममै धान रोप्नका लागि पर्याप्त पानी परेकाले राेपाइँ थालेकाे बताउँछन् । राेपाइँका लागि आकाशे पानीकाे भर पर्नु पर्ने भएकाले पनि खेतमा पानी जम्नेबित्तिकै राेपाइँ सुरु गरेकाे उनीहरुकाे भनाइ छ । सामान्यतया असार १५ गतेदेखि राेपाइँ सुरु हुने भए पनि पानी परेपछि असारको पहिलो हप्तादेखि नै किसानहरु राेपाइँको चटारोमा छन् ।

छिटपुट ठाउँमा बाहेक धेरैजसो ठाउँमा अहिले पानी परेको छ । आकाशे पानीको भर पर्नुपर्ने ठाउँमा अहिले धानबालीको काम सुरु भएको छ । पानी नपर्दा धानको बिउ मात्रै होइन, मकै, भटमासलगायतका बर्खेबालीमा असर पुगेकाे थियाे । सिँचाइको सुविधा भएको ठाउँमा रोपाइँ धमाधम भइरहँदा आकाशे पानीले रोपाइँ हुने क्षेत्रमा पनि राेपाइँ सुरु भएको हाे । देशका धेरै ठाउँमा असार मसान्तसम्म र साउनको पहिलो हप्तासम्म रोपाइँ हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?