काभ्रेका ६ वटा पालिकाका खानेपानी आयोजनाकाे पानी दूषित, दिसाजन्य किटाणु भेटियो

काभ्रेपलाञ्चोकका ६ वटा पालिकाका खानेपानी आयाेजनाकाे पानी दूषित भएकाे पाइएकाे छ । जिल्ला स्वास्थ्य कार्यालयले झण्डै दुई हप्ताको अवधिमा गरेको परीक्षणमा ६ पालिकाका खानेपानी आयोजनाकाे पानी दूषित भएको पाइएकाे हाे । परीक्षणले काभ्रेमा ५० प्रतिशत खानेपानी दूषित भएको भेटिएकाे छ ।

धुलिखेल, बनेपा, पनौती, पाँचखाल, भुम्लुलगायतका ठाउँमा खानेपानीकाे नमुना परीक्षण गर्दा पानीजन्य रोगको जोखिम पुष्टि भएको हो । परीक्षण गरिएका सबै खानेपानीमा दिसाजन्य किटाणु ( फेइकल कोलिफर्म–इकोली) भेटिएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डाक्टर पुरुषोत्तम सेढाईँले बताउनुभयो । उहाँका अनुसार परीक्षणबाट खानेपानी संस्थानद्वारा वितरण भइरहेको तथा स्थानीय खानेपानी आयोजनाद्वारा वितरीत पानीमा दिसाजन्य किटाणु भेटिएको हो ।

अनुगमन तथा परीक्षणका क्रममा कतिपय खानेपानीको स्रोत तथा सङ्कलन केन्द्र ट्याङ्कीको पानी दूषित देखिएको छ । कतिपय ठाउँमा जारको खानेपानीमा समेत दिसाजन्य किटाणु भेटिएको उहाँँले बताउनुभयो । खानेपानी दूषित भएकाले झाडापखाला, हैजा जस्ता सरुवा रोगको जोखिम बढेकाले सचेत रहन उहाँको आग्रह छ । पानी उमालेर वा शुद्धीकरण गरेर मात्र पिउन उहाँको सुझाव छ ।

जिल्ला स्वास्थ्य कार्यालयले पखाला लागे, दिसामा रगत देखिए, तारन्तार वान्ता भए, उच्च मात्रामा ज्वरो आए तुरुन्तै स्वास्थ्य संस्थामा उपचारका लागि जान समेत अपिल गरेको छ । काभ्रेपलाञ्चोकमा १३ वटा पालिका रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?