बेमेलको उत्कर्षमा माथागढीका कर्मचारी र जनप्रतिनिधि

स्थानीय सरकारलाई कानुनले न्याय सम्पादनको समेत जिम्मा दिएको छ । न्यायिक समितीको प्रमुख गाउँपालिका उपाध्यक्ष वा नगर उपप्रमुख रहने ब्यवस्था छ । स्थायी सरकार भनिने कर्मचारीको पनि आफ्ना जिम्मेवारी र कर्तब्य छन । जिल्लाको माथागढी गाउँपालिकामा स्थानीयले भुक्तानी नपाएर सुरु भएको आक्रोषले कर्मचारी र जनप्रतिनिधि बिचको दुरिलाई पनि बढाएको छ । एक अर्काले अन्याय र आरोप प्रत्यारोपको लडाँई सुरु गरेका छन । जनताहरु सोधिरहेका छन आफँै लड्छन भने हामिलाई न्याय कसरी दिन्छन ?
सुरु कहाँबाट भयो ?
वडा ३ मा निर्माण सम्पन्न भएको भवनको भुक्तानीका लागि असार २१ गते गाउँपालिकाको कार्यलयमा फाईल पुग्यो । जुन भवन २२ दिन अघि मात्रै निर्माण गर्ने सम्झौता भएको थियो । भुक्तानीका लागि आवश्यक कागजात नपुगेको भनी लेखा शाखाबाट फाईल फिर्ता भयो । २२ गते फाईल पुन गाउँपालिका पुग्यो । सुत्र प्रणालीमा भएको समस्या र कार्य ब्यस्तताले भुक्तानी हुन सकेन । २४ गते राती १२ बजे सुत्र बन्द हुने पुर्व सुचना अनुसार मलेनिकाले सुत्र बन्द ग्यो । अन्य स्थानीय तहमा जस्तै माथागढीमा पनि भुक्तानी हुन बाँकी फाईल रहे । रकम निकासा नभएपछी सम्बन्धित उपभोक्ता तथा श्रमिकहरु असार २७ गते गाउँपालिकामा पुगे । रकम निकासा नपाएको झोँकमा सेवाग्राहीले कर्मचारी माथि रिस पोखे । प्राविधिक समस्याका कारण भुक्तानी नभएको कुरा लेखा शाखाले बुझाउन खोजेपनी सेवाग्राहीले कर्मचारीले ढिलासुस्ती गरेका कारण भुक्तानी नभएको अडान राखे । आवेगमा रहेका एक उपभोक्ताले बन्द गरिएको कोठामा रहेका कर्मचारिलाई झ्याल बाहिरबाट लठ्ठि प्रहार गरे ।
जनप्रतिनिधि माथि कर्मचारीको आपत्ति
कामको सिलसिलामा लेखा ब्यवस्थापन प्रणाली सुत्रमा प्राविधिक समस्या देखिएको र भुत्तानीकै प्रक्रियामा रहेको सामान्य कुरालाई लिएर जनप्रतिनिधिको उक्साहटमा कर्मचारि माथि आक्रमणमा उत्रिएकाले आफँुहरु असुरक्षित भएको भन्दै कर्मचारीले बिहिवार जिल्ला प्रशासन कार्यालयमा पत्र समेत दिएका छन । आक्रमण हुँदा गाउँपालिका अध्यक्षले अविभावकत्व गर्न नसकेको, वडा न १ र ३ का अध्यक्ष लगायत जनप्रतिनिधिले उक्साएको  आरोप कर्मचारीको छ । घटनाको भिडियोमा वडा न १ का अध्यक्ष राज कुमार पन्थीले क्यान्टिन तिरबाट आएर ‘चेक लिएर जानुस हाम्रोमा पनि यस्तो समस्या छ’ भनेको सुनिन्छ ।
सुरक्षाको जिम्मा पालिकाको हो, अध्यक्ष चिदी
गाउँपालिका अध्यक्ष यम बहादुर चिदीले कर्मचारीले जिल्ला प्रशासन कार्यालयमा सुरक्षा माग गरिएको बारे आपत्ति जनाएका छन । शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै अध्यक्ष चिदीले भने, ‘सामाजिक सञ्जालहरुमा उल्लेख भए जस्तो पालिकामा कार्यरत प्रशासनिक तथा प्राविधिक कर्मचारीहरुलाई जनप्रतिनिधिहरुबाट काममा कुनै किसिमको दवाब सिर्जना हुने काम नभएको र आफ्नो बिवेकले ऐन, नियम अनुसार काम गर्न समेत निर्देशन भएको हुँदा समाजिक सञ्जालमा सम्प्रेषण भएका समाचारहरु तथ्यहिन, आधारहिन र झुठा रहेको र त्यसप्रति पालिकाको घोर आपत्ति रहेको छ ।’ कर्मचारीलाई अभद्र व्यवहार गर्न नदिन बैठकबाट निस्केर सम्झाई बुझाई गरेको र भिड शान्त भएको उल्लेख गर्दै बिज्ञप्तीमा भनिएको छ, ‘गाउँपालिकामा कुनै सल्लाह नगरी प्रशासन संग सुरक्षाको मागको नाममा गाउँपालिकाको बेईजत गरियो ।’
पालिकाप्रति विश्वास नभएर प्रशासन गयौँ, प्रमुख प्रशासकीय अधिकृत ज्ञवाली
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिनेश ज्ञवालीले गाउँपालिका अध्यक्षले जारी गरेको बिज्ञप्तीले आँफुहरु आश्वस्थ हुन नसकेको प्रतिक्रिया दिएका छन । बिना अर्थ कर्मचारीलाई दोष लगाएर समस्याको समाधान नहुने भन्दै ज्ञवालीले आँफुहरुको चाहना खराव काम कसैबाट नहोस भन्ने मात्रै भएको बताए । उनले भने, ‘गाउँसभा चलिरहेको समयमा घटना भएको छ, उहाँहरुको चाहना हुन्थ्यो भने समस्या समाधान हुन्थ्यो होला तर उहाँहरुले केही गर्नुभएन । अब हामिले उहाँहरुसंग सुरक्षा मागेर कसरी विश्वस्त हुन सकिन्छ ? तत्कालिन समयमा गरेको ब्यवहारले सुरक्षाको अनुभुती हुन सक्छ भन्ने विश्वास नभएर प्रशासन गएका हौँ ।’
वडा अध्यक्ष भन्छन, ‘कर्मचारिको कार्यशैलीले समस्या’
घटनामा वडा न  ३ का नागरिकहरु र वडा न १ का अध्यक्ष संलग्न रहेको कर्मचारिले जिल्ला प्रशासन कार्यालयलाई बुझाएको पत्रमा उल्लेख छ । उनिहरुले भिडलाई झन उत्तेजित बनाएको पत्रमा जनाईएको छ । तर वडा न ३ का अध्यक्ष तेजबहादुर घर्ति मगररले भने सम्भावित घटनाबाट जोगाउनका लागि आक्रोषित भिडलाई सम्झाई बुझाई गरेको बताएका छन । ‘पालिकामा समस्या हुँदा हामिलाई समस्या हुन्छ, हामिले पालिकाले पैसा नतिरे जसरी पनि मिलाउँछौँ भनेका हौँ, सहयोग गरेका छौँ तर उल्टै हामिमाथी नानाथरी आरोप लगाईयो’ वडा अध्यक्ष घर्तिले भने, ‘हामिले कुरा मिल्यो भन्ने ठानेका थियौँ तर घटनालाई मथ्थर बनाउनुको साटो कर्मचारीले झन मलजल गरेछन, म काठमाण्डु हिडेको मान्छे पनि बाटोबाट फर्किदै छु ।’ त्यस्तै वडा न १ का अध्यक्ष राजकुमार पन्थीले घटनालाई उत्तेजित पार्ने काम आँफुबाट नभएको बताए । ‘मैले सम्झाएको बुझाएको छु’ उनले भने, ‘कर्मचारिले आफ्ना कर्तुत लुकाउनका लागि जन प्रतिनिधिलाई मुछेका हुन । गाउँपालिकामा न्यायिक समिती छ त्यहाँ खवर सम्म नगरेर प्रशासन जानु बिडम्बनाको कुरा हो ।’
वडा अध्यक्षको बिज्ञप्तीमा कर्मचारी माथि आर्थिक चलखेलको आरोप
घटनाको सम्बन्धमा माथागढी गाउँपालिका वडा न १ का अध्यक्ष राजकुमार पन्थी र वडा न ३ का अध्यक्ष तेजबहादुर घर्ती मगरले जारि गरेको बिज्ञप्तीमा कर्मचारीहरुले आर्थिक चलखेल गर्ने गरेको आरोप लगाएका छन । बिज्ञप्तीमा आर्थिक प्रलोभनमा कर्मचारीले दुख दिने तथा नियतवस कार्य सम्मादनमा अप्ठेरो पार्ने गरेको आरोप लगाईएको छ । यता प्रमुख प्रशासकीय अधिकृत दिनेश ज्ञवालीले भने विषयान्तर गरेर घटना ढाकछोप गर्ने कोशिस गर्न स्रोत पुष्टी नगरी आरोप लगाएको बताए । ‘प्रमाण छ भने नियम अनुसार कारवाही हुन्छ’ प्रमुख प्रशासकीय अधिकृत ज्ञवालीले भने, ‘बिषयान्तर गर्ने कामले निकाश दिदैँन, अहिले यो किन भनिएको छ त्यो सामान्य नागरिकले पनि बुझ्न सक्छन ।’
गाउँपालिका अध्यक्ष र वडा अध्यक्ष बिच पनि दुरि छ ? 
माथागढीको घटनाले एकोहोरो तर्क पेश गरेको छ र त्यस्तै सन्देश दिन खोजेको छ । कर्मचारिको बिज्ञप्तीमा जनपप्रतिनिधि दोषि देखिन्छन । जनप्रतिनिधिको नजरमा कर्मचारी खराव छन । बिज्ञप्तीलई हेर्ने हो भने गाउँपालिकाले घटनाका सम्बन्धमा जवाफी बिज्ञप्ती निकालेको छ । तर सोही घटनामा गाउँपालिका अध्यक्षको बिज्ञप्ती पछि वडा अध्यक्ष समेतको बिज्ञप्ती छ । एउटै घटनामा पालिका र वडाको फरक फरक आषयको बिज्ञप्ती आउनुमा  गाउँपालिका र वडा बिचको समन्वय माथि प्रश्न गर्न सकिने ठाँउ बनेको छ । यसले वडाका जनप्रतिनिधि र पालिका अध्यक्ष बिचको दुरिको समेत संकेत गरेको छ ।
सुरक्षा र सेवा प्रवाहमा राजनीतिक गन्ध
घटनालाई राजनीतिकरण गर्ने प्रयास गरिएको जनप्रतिनिधिको गुनासो छ । कर्मचारीले नेपाली काङग्रेको आडमा शक्ति देखाएको वडा अध्यक्ष तेजबहादुर घर्तिको भनाई छ । घटनाको सम्बन्धमा नेपाल निजामती कर्मचारी युनियन पाल्पाले एक बिज्ञप्ती जारि गरि गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । अध्यक्ष रवि अर्याल र सचिव चन्द्र बहादुर वलीद्वरा जारी विज्ञप्तिमा  भनिएको छ, ‘जनप्रतिनिधि, सम्बन्धित योजना कार्यक्रमका उपभोक्ता समितिका पदाधिकारीहरुबाट कर्मचारीहरु माथि गाली गलौज, अपशब्द, अभद्र व्यवहार, भौतिक आक्रमण गर्ने प्रयास एवं ज्यान मार्ने धम्की समेत दिएको घटनाप्रति ध्यानाकर्षण भएको जनाउँदै ‘राष्ट्रसेवक कर्मचारीको मनोबल कमजोर हुने खालका गतिविधिहरू बन्द गरी कानुन हातमा लिने अराजक व्यक्ति तथा समूहलाई आवश्यक कानूनी कारवाहीका लागि माथागढी गाउँपालिका र सम्बन्धित सरोकारवालाहरूसँग जोडदार माग गर्दछौँ ।’
अब के हुन्छ ? 
जिल्ला प्रशासन कार्यालयमा प्रमुख प्रशासकीय अधिकृत दिनेश ज्ञवाली, लेखा अधिकृत सन्तोष दाहाल, इन्जिनियर धर्मेन्द्रकुमार यादव र लेखापाल टीकाराम बस्यालले बुझाएको पत्रमा दोषीउपर कारबाही नभएसम्म गाउँपालिकामा उपस्थित भई सुरक्षित रही कामकाज गर्न सक्ने अवस्था नरहेको लेखेका छन । गाउँपालिका अध्यक्ष यम बहादुर चिदी र वडा अध्यक्ष द्घय राजकुमार पन्थी र तेजबहादुर घर्तिले पनि बिज्ञप्ती निकालेर जवाफ दिएका छन । बिज्ञप्तीमा सवाल जवाफ देखिएको छ । प्रमुख प्रशासकीय अधिकृत दिनेश ज्ञवाली बिदामा छन भने लेखा शाखाका कर्मचारी पनि घरमा छन । घटनाको सहजिकरणका लागि टेलिफोनमा अध्यक्ष चिदी संग हार्दिकताका साथ कुरा भएको प्र प्र अधिकृत ज्ञवालीले बताए ।
गाउँपालिका अध्यक्ष यमबहादुर चिदिले नियमित कार्य सम्पादन गर्ने वातावरण बनाउन र कर्मचारिको सुरक्षाका लागि आफँु तयार भएको बताएका छन । आपसी समझदारिमा छलफल गरि वातावरण सहज बनाउने अध्यक्ष चिदीको भनाई छ ।
नारायण न्यौपाने

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?