दुर्घटना हुँदा समाचार र सामाजिक सञ्जालमा बढि चर्चा हुन्छ तर आत्महत्याको बिषयमा हुँदैन । आत्महत्या गर्नेको वास्तविक कथा, परिस्थिती अन्य मानिसहरुसंग मेल खान सक्छ र त्यसले आत्महत्या गर्न प्रेरणा दिन सक्छ भन्ने अभिप्रायले आत्महत्याकोे घटनाको खासै चर्चा गरिदैन । तर मृत्यूको क्षती जस्तोसुकै घटना वा परिस्थितिले भएपनी एउटै हुन्छ । दुर्घटना नियन्त्रण बाहिर हुनसक्छ तर आत्महत्याबाट मानिसलाई रोक्न सकिन्छ । यो स्वयमले गर्न सकिरहेको छैन भने सहजिकरण कसले कति गर्न सक्छ ? सडक दुर्घटना रोक्न प्यारापिट बनाएजस्तै आत्महत्या रोक्ने कुनै प्यारापिट बनाउन सकिन्छ ? यो प्रश्न अहिले आम मानिसमा छ ।
आत्महत्याको दर विश्वभर बढिरहेको छ । बिश्व स्वास्थ्य संगठनको एउटा तथ्याङ्क अनुसार प्रत्येक ४० सेकेण्डमा एक जनाले आत्महत्या गरेको हुन्छ । नेपालमा प्रत्येक दिन १४ जनाले आत्महत्या गर्ने गरेका छन । प्रहरीलाई जानकारी गराए कानुनी प्रक्रियाहरु पूरा गर्नुपर्ने झण्झट हुने र आर्थिक भार पर्ने भएकाले दुर दराजका घटना प्रहरीको अभिलेखमा आउँदैनन ।
पाल्पामा १० वर्षमा ७ सय २७ जनाको ज्यान गयो ।
आव २०७०।७१ मा पाल्पामा आत्महत्या गर्नेको सङख्या ५४ थियो । अर्को वर्ष १ जना बढि अर्थात ५५ जनाले आत्महत्या गरेका छन । तर आव २०७५।७६ मा आत्महत्या गर्नेको सङख्या ९० पुगेको छ । जुन १० वर्षको तथ्याङकमा सबैभन्दा बढि हो । यो आर्थिक वर्षमा पनि आत्महत्या गर्नेको अनुपात घटेको छैन । जिल्ला प्रहरी कार्यालय पाल्पाको तथ्याङक अनुसार असार ३१ सम्म ८५ जनाले आत्महत्या गरेका छन । आत्महत्या गर्ने ६ सय १९ जनाले झुण्डियर प्राण त्याग गरेका छन ।
पाल्पा प्रहरी के भन्छ ?
जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी प्रमुख एसपी हेरम्ब शर्मा कट्टेलका अनुसार आव ७९ र ८० मा आत्महत्या न्यूनिकरणको अभियान स्वरुप सचेतनाका लागि ३५ वटा कार्यक्रम गरेको छ । आँफुहरुसँग विषय बिषेसज्ञ नहुने भएपनी समुदायमा भेला जम्मा गरेर जीवनको महत्व बुझाउँदै ब्यवहारिक ज्ञान बाँड्ने गरेको एसपी कट्टेलले बताए । उनले भने, ‘धेरै मानिसहरुले स्वास्थ्यमा समस्या भएर, एक्लोपनाको कारणले, आवेषमा आएर र आर्थिक अभावले आत्महत्या गर्ने देखिएकाले त्यस्तो अवस्थामा भएकाहरुको परिवारले ख्याल गर्नुपर्छ आवश्यक भए प्रहरीलाई खवर गर्न अनुरोध गर्दछुु ।’
यस वर्ष प्रहरीले आत्महत्या न्यूनिकरणका लागि विषेश काम गर्ने समेत एसपी कट्टेलको भनाई छ । उनले आफुँहरुसंग आर्थिक स्रोतको अभाव हुने भएकाले स्थानीय सरकारसँग समन्वय गरेर समुदाय, बिद्यालय, र समुहमा सचेतनाको काम गर्ने योजना रहेको बताए । उनले स्थानीय तहले कुनै न कुनै उपाएको खोजी गरि आत्महतया न्यूनिकराणका विषयमा काम गर्नु पर्ने सुझाव दिएका छन ।
स्थानीय सरकारले ध्यान दिन सकेन
सरकार अविभावक हो भने आफ्ना नागरिकको जिवन बचाउने प्रयत्न गर्नु उसको पहिलो जिम्मेवारी हो । तर स्थानीय सरकारले आत्महत्या रोकथामको बिषयमा खासै सोँच्ने फुर्सद पाएका छैनन ।
रिब्दिकोट गाउँपालिका अध्यक्ष नारायण बहादुर कार्कीले आत्महत्या न्यूनिकरणका लागि ठोस कदम चाल्न नसकेको र यसबारे आगामि आर्थिक वर्षमा काम गर्ने बताए । ‘स्वास्थ्य शाखाबाट केही काम भएको होला तर महत्व दिन सकिरहेका छैनौँ’, अध्यक्ष कार्कीले भने, ‘आगामी दिनमा अवश्य सोँच्छौ ।’
तिनाउ गाउँपालिकाका अध्यक्ष प्रेम श्रेश्ठले आत्महत्या न्यूनिकरणको विषय महत्वपुर्ण भएपनि ध्यान दिन नसकेको तर यो वर्ष काम गर्ने प्रतिबद्घता जनाए । उनले आर्थिक अभाव, बेमेल र महत्वकाँक्षाले बढि आत्महत्या हुने गरेको औँल्याए ।
माथागढी गाउँपालिका अध्यक्ष यमबहादुर चिदीले आत्महत्या न्यूनिकरणका लागि सकारात्मक सोँचको विकास गराउनु महत्वपुर्ण कुरा भएको बताउँदै यो वर्ष विद्यालय, आमा समुह र युवा क्लबलाई लक्षित गरेर सचेतना अभियान चलाउने जनाए । माथागढीले पनि अहिलेसम्म ठोस काम गरेको छैन ।
बगनासकाली गाउँपालिकाले बालमैत्री स्थानीय शासन कार्यक्रम अन्तर्गत आत्महत्याका सवालमा केहि कार्यक्रम गरको अध्यक्ष सरस्वती चिदी दर्लामीको भनाई छ । प्रहरी संगको समन्वयमा समेत केही सचेतनामुलक काम भएको भन्दै अध्यक्ष दर्लामीले यो वर्ष योजना बनाएर लाग्ने बताईन ।
रम्भा गाउँपालिका अध्यक्ष बिश्णु भण्डारीले मनोपरामर्श दाताबाट यस वर्ष विभिन्न समुदायमा सचेतनाको काम गर्ने योजना रहेको बताए । उनले गतवर्ष पनि आत्महत्या न्यूनिकरणका लागि काम गरेको तर त्यो प्रयाप्त नभएको धारणा राखे ।
रामपुर नगरपालिका प्रमुख रमण बहादुर थापाले चेतनाको कमि र बेरोजगारीले आत्मत्या बढेको बताउँदै यसको न्यूनिकरणका लागि मानिसहरुलाई ब्यस्त बनाउनुपर्नेमा जोड दिए । उनले समुदायमा चेतनामुलक काम गरिरहेको तर त्यो प्रयाप्त नभएकाले थप ध्यान दिने बताए ।
मनिसले आत्महत्या किन गर्छ ?
आत्महत्याको अर्थ स्वयंलाई मार्नु भन्ने हो । चाहनाहरु पूरा नभएपछि प्राय मानिस आत्महत्या गर्न पुग्छ । व्यक्ति आत्महत्याको तहमा पुग्नुको मुल कारण भने समाज हो । प्रेम विवाह समाजले अस्विकार गर्नु, परीक्षामा असफल हुँदा, बच्चाहरुको बढ्दो महत्वाकाङ्क्षा र आफ्नो आयश्रोतको तालमेल मिलाउन नसकेर आत्महत्या गर्नेहरू पनि छन । एक्लोपन र गलत सङ्गतले नशालु पदार्थ एवं कुलतमा फस्ने , अभिभावकहरुको अनुपस्थितिमा जीवनलाई नबुझ्दै गर्ने ‘लिभिङ् टुगेदर रिलेसनसिप’मा धोका, अविश्वास र अपरिपक्व अवस्थामा रहेको अवैध गर्भाधारणले युवायुवतीहरुलाई आत्महत्या गर्न बाध्य बनाएको घटनाहरु पनि बिद्यमान छन । वृद्धवृद्धाहरुले आफ्नै सन्तानबाट सहनु परेको अपहेलना र मानसिक तनाव आर्थिक अभाव, विभिन्न किसिमका रोगहरुलाई खप्न नसकेका कारण समेत आत्महत्या गर्ने गरेको पाइन्छ । सामाजिक सञ्जाल र सञ्चार उपकरणहरुको दुरुपयोग पनि आत्महत्याको अर्को महत्वपूर्ण कारण हो ।
नारायण न्यौपाने





