७ वटा भाषामा तयार भयो बन्दीपुर गाउँपालिकाको १७ पर्यटकीय गन्तव्यको सूचना

बन्दीपुर गाउँपालिकाको १७ पर्यटकीय गन्तव्यको सूचना नेपालीसहित सात वटा भाषामा तयार भएको छ ।

गाउँपालिका र मदानी मिडिया प्रालिको सहकार्यमा पर्यटकीय गन्तव्यकाे सूचना नेपाली, अङ्ग्रेजी, चिनियाँ, जापानी, काेरियाली, फ्रान्सेलीलगायतका भाषामा तयार पारिएको हो । ती सूचनाहरू अब गाउँपालिकाका विभिन्न ठाउँमा क्यूआर स्क्यान गरी पढ्न तथा सुन्न सकिने भएको छ ।

बन्दीपुर घुम्न आउने पर्यटकहरूलाई पर्यटकीय गन्तव्यसम्म सहज पहुँच स्थापना गर्ने उद्देश्यसहित सहकार्य गरिएको गाउँपालिका प्रमुख सुरेन्द्र थापाले बताउनुभयाे ।

मङ्गलवार बन्दीपुर गाउँपालिकाको कार्यालय प्राङ्गणमा एक समारोहका बीच मदानी मिडियाका अध्यक्ष विष्णुकान्त घिमिरेले क्यूआर कोडसहितको सूचना गाउँपालिका अध्यक्ष थापालाई हस्तान्तरण गर्नुभएकाे हाे ।

बन्दीपुरको थानीमाई मन्दिर, मणि मुकुन्देश्वरी पर्खाल (मिनी ग्रेटवाल), विन्ध्यवासिनी मन्दिर, पद्म पुस्तकालय, पातलेद्वार गुफा, पहाड पानी, शहीद स्मारक पार्क लगायतका १७ पर्यटकीय गन्तव्यको सूचना फरक–फरक भाषामा तयार भएको हो । सूचना हस्तान्तरण भएसँगै अब बन्दीपुर गाउँपालिकाका ती पर्यटकीय गन्तव्यहरू मदानी मिडियाअन्तर्गतको टुरिजमपाना डटकममा पढ्न/ हेर्न तथा सुन्न सकिने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?