सार्वजनिक ठाउँमा फोहोर वर्गीकरण गर्न काठमाण्डौ महानगरले झन्डै २ हजार थान डस्टबिन राख्दै

सार्वजनिक ठाउँमा उपभोक्ताले उत्पादन गरेको कुहिने र नकुहिने फोहोर छुट्टाछुट्टै जम्मा गर्न काठमाण्डौ महानगरपालिकाले एक हजार नौ सय ५० थान डस्टबिन राख्ने भएको छ ।

एउटा सेटमा दुई वटा डस्टबिन हुन्छन् । यसमध्ये हरियो डस्टबिन कुहिने र रातो डस्टबिन नकुहिने फोहोरका लागि हो । उत्पादन भएकै ठाउँमा फोहोरलाई छुट्याएर प्रकृतिअनुसार छुट्टाछुट्टै व्यवस्थापन गर्ने योजनाअनुसार डस्टबिन राख्न लागेको महानगरको वातावरण व्यवस्थापन विभागका प्रमुख रविनमान श्रेष्ठले बताउनुभयो ।

घरघरमा फोहोर वर्गीकरण गरेजस्तै सार्वजनिक ठाउँमा उत्पादन हुने फोहोरलाई पनि कुहिने र नकुहिने गरी छुट्टाछुट्टै भाँडामा सङ्कलन गर्न लागेको महानगरले जनाएको छ । यसरी राखिने सेट दुई प्रकारका छन् । महानगरका अनुसार सानो आकारको डस्टबिनको क्षमता ७० लिटर र मध्यम आकारको डस्टबिनको क्षमता एक सय २५ लिटरको हुनेछ । डस्टबिनको माथिल्लो भागमा कुन प्रकारको फोहोर हाल्ने भाँडो हो भन्ने लेखिएको हुनेछ ।

यी सेटहरू वडासँग समन्वय गरेर फोहोर व्यवस्थापन कार्यमा खटिने नाइकेहरूको जिम्मामा राखिनेछ । हरेक सेटमा नम्बर दिइएको र यसका आधारमा कुन सेट कसको जिम्मामा छ भन्ने थाहा हुने महानगरले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?