कालीगण्डकी गाउँपालिका गुल्मीले आफ्नो नीति तथा कार्यक्रममा कृषि, कृषक र कृषि कर्मलाई महत्व दिएको छ । उसले आफ्नो नीति अनुरुपको बजेट ल्याएमा कालीगण्डकी गाउँपालिकामा कृषि क्षेत्रमा राम्रो उपलब्धी हुने नागरिकको विश्वास छ । गाउँपालिकाले कृषि उपज गर्ने किषानलाई उत्पादनको आधारमा तत्कालै अनुदान दिने नीति लिएको हो । उसले यसका लागि ‘उत्पादन साथमा, अनुदान हातमा’ कार्यक्रम लागु गर्नेछ । कृषि, पशुपालन र फलफुल मार्फत पालिकालाई समुन्नत बनाउने अपेक्षा गाउँपालिकाको छ ।
गाउँसभाको पन्ध्रौँ अधिवेसनको बैठकमा गाउँपालिका अध्यक्ष बेद बहादुर थापाले आगामी आर्थिक वर्ष २०८१।८२ का लागि नीति तथा कार्यक्रम सभा समक्ष प्रस्तुत गरेका थिए । अध्यक्ष थापाले, सामुहिक कृषि गर्ने, बाँझो जमिनलाई गाउँपालिकाको स्वामित्वमा लिई उपयोग गर्ने, बाँझो जमिनमा खेती गर्ने किषानलाई विशेस अनुदान दिने, कृषि उत्पादन तथा पशुपंक्षिमा आकास्मिक हुने क्षतिका लागि बिमा गर्ने कार्यक्रम रहेको सुनाएका थिए ।
उत्कृस्ठ किषानलाई सम्मान गर्ने, अध्ययन अवलोकन भ्रमणका लागि लैजाने, उपर्युक्त प्रविधी हस्तान्तरण गर्ने, कालीगण्डकी कृषि तथा पशु उद्यमशिलता विकास तालिमलाई निरन्तरता दिने, कृषि उपज संकलन केन्द्र स्थापना गर्ने, प्रत्येक वडामा नर्सरी स्थापना गर्ने, निजी, सरकारी तथा गैह्र सरकारी संस्थासंगको सहकार्यलाई निरन्तरता दिने लगायतका नीति समेत कृषि क्षेत्रलाई मजवुत बनाउन अघि सारिएको छ ।
गाउँपालिकाका कृषकले उत्पादन गरेको उपजमा मुल्यमा एकरुपता ल्याउने उद्देश्यले गाउँपालिकालेनै समर्थन मुल्य तोक्ने समेत कार्यक्रम तय गरेको छ । गाउँपालिकाले अनुदानलाई ब्यवस्थित गर्न सफ्टवयर निर्माण गर्ने समेत जनाएको छ ।
निर्माणधिन कालीगण्डकी कोरीडोरको दायाँबाँया बृक्षारोपण गरि हरियाली बनाउने समेत गाउँपालिकाको नीति तथा कार्यक्रममा समाबेस गरिएको छ ।
गाउँपालिकाले सडकलाई नियमित संचालन गर्न प्रबन्ध गर्ने, खानेपानीको समुचित ब्यवस्था गर्ने, शैक्षिक गुणस्तरमा ध्यान दिने, जनताको जीवनस्तर उकास्न उत्पादन संग जोड्ने कुरालाई प्राथमिकता दिएको छ ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरेश गिरीले कृषि क्षेत्रको प्राथमिकता संग बजेटको तारतम्यता मिलाउन काम गरिरहेको बताए । उनले भने, ‘कार्यान्यन हुने गरि बजेट ब्यवस्था गर्न लागिरहेको छौँ, स्रोतको अभावका बावजुत प्रयास जारी छ ।’
-नारायण न्यौपाने