गर्मी समय सुरु भएसँगै निकुञ्ज र वन क्षेत्रमा हुने डढेलो नियन्त्रणका लागि सरोकारवालाहरु चनाखो वन्न आग्रह गरिएको छ । फागनु लागेपछि वन क्षेत्रमा हुन आगलागीका कारण बिभिन्न समयमा धनजनको क्षती हुने भएकाले निकुञ्ज र वन क्षेत्रमा आगलागी हुन नदिन सबैलाई अनुरोध गरिएको हो ।
डिभिजन वन कार्यालय र चितवन राष्ट्रिय निकुञ्जले वन क्षेत्रमा हुने डढेलो नियन्त्रणका लागि सबैलाई तयारी हुन आग्रह गरेका छन् । वन कार्यालयका सूचना अधिकारी देविप्रसाद पौडेलका अनुसार कार्यालय मातहतका सब डिभिजनहरुलाई पत्राचार गरिसकिएको छ । सबै सवडिभिजनमा अग्नि नियन्त्रण समुह गठन गरी आगो निभाउन, अग्नी नियन्त्रण रेखा स्थापना गर्ने लगायतका कामहरु भईरहेको उहाँले बताउनुभयो । बरण्डाभार क्षेत्रमा बढिमात्रामा आगोको जोखिम रहेकाले सबै क्षेत्रमा अग्नि रेखा कायम गरी यसलाई स्थापित गर्न आग्रह गरिएको छ ।
स्थानीय जनप्रतिनिधि र सरोकारवालाहरु बीचको अन्तरक्रिया सहित अग्नि नियन्त्रणका लागि परिचालन गर्न लागिएको उहाँले बताउनुभयो । यसै अभियानका लागि कार्यालयले हरित स्वयमसेवक छनोटको काम समेत सकेको उहाँले जानकारी दिनुभयो । वन रक्षक सहित हरित स्वयमंसेवकले डढेलोका कारण हुन सक्ने क्षती न्यूनिकरण, डढेलो नियन्त्रण लगायतका क्षेत्रमा काम गर्नेछन् ।
पौडेलले भन्नुभयो “डढेलो नियन्त्रणका लागि आवश्यक सामग्री समुदाय स्तरमा पुर्याईएको छ भने केही पुर्याउन बाँकी रहेको छ । हरेक सवडिभिजन क्षेत्रमा रहेको नेपाल प्रहरी एवं सुरक्षाकर्मीहरुलाई अग्नि नियन्त्रक सामग्री उपलव्ध गराउने तयारी गरेका छौ ।” पानीको ट्याङ्की, फायर स्वाटर, वाटर व्याग, वाइन्डव्लोर लगायतका सामाग्री खरिद गरी वितरणको प्रक्रिया सुरु गरिएको उहाँले बताउनुभयो ।
वन क्षेत्रमा घाँसदाउरा गर्न जाँदा चुरोट खाएर ठूटा ननिभाई फाल्ने, आगो लगाएर ननिभाई हिड्ने जस्ता कार्यले गर्दा आगो वस्तिमा समेत पस्ने गरेको उहाँले बताउनुभयो । यसलाई रोक्नका लागि डिभिजन वन कार्यालय अन्तर्गत रहेका सामुदायीक वन, कवुलियती वन, धार्मीक वन र संरक्षित क्षेत्र परिषदका उपभोक्ताहरुलाई सचेतनाका लागि अभियान चलाईएको उहाँले जानकारी दिनुभयो । वन कार्यालय माताहतमा ५४ हजार हेक्टरभन्दा बढि जमिनमा रहेको वन रहेको छ ।
यस्तै चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अबिनास थापा मगरले मध्यवर्ती क्षेत्रबाट डढेलो सल्किने गरेको भन्दै उपभोक्ताहरुलाई सजग रहन आग्रह गर्नुभयो । निकुञ्जको कुल क्षेत्रफल ९५२ दशमलब ६२ वर्ग किलोमिटर रहेको भए पनि मध्यवर्ती क्षेत्रमा घाँस दाउरा गर्न आउनेले आगो लगाईदिदा निकुञ्जको चुरे क्षेत्र बढि प्रभावित वन्ने गरेको उहाँले बताउनुभयो ।
कतिपय स्थानमा निकुञ्जले घाँसेमैदान व्यवस्थापनका लागि आफै डढेलो लगाउने गरेको भए पनि अनियन्त्रीत डढेलोका कारण वन र वन्यजन्तुमा नकारात्मक प्रभाव पर्ने भएकाले डढेलो लाग्न नदिने उपायको बारेमा स्थानीय उपभोक्ताहरुसँग छलफल गरिएको उहाँले बताउनुभयो । अहिले निकुञ्जमा फायरलाईन निर्माण, सरसफाई, अग्नि नियन्त्रण सामग्रीको मर्मत लगायतका कामहरु भईरहेको उहाँले जानकारी दिनुभयो । निकुञ्जमा प्रयाप्त मात्रामा अग्नि नियन्त्रणको समाग्री नभए पनि भएका सामग्रीहरुबाट काम लिइदैं आइएको छ ।





