सार्वजनिक सुनुवाई कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मदन अर्यालले गाउँपालिका मार्फत चालु आर्थिक वर्ष २०८१।०८२ को यो अवधिमा भएको प्रगति विवरण प्रस्तुत गर्नुभएको थियो ।
निस्दी गाउँपालिकाको आयोजना र कुटुम्ब मिडिया नेटवर्क प्रालिको सहजीकरणमा भएको कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत अर्यालले गाउँपालिकाका शाखागत प्रतिवेदन प्रस्तुत गर्नुभयो । योजना तथा प्रशासन तथा अनुगमन शाखा, पशु सेवा शाखा, कृषि शाखा, स्वास्थ्य शाखा, शिक्षा युवा तथा खेलकुद शाखा, रोजगार सेवा केन्द्र, महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा, सामाजिक सुरक्षा तथा पञ्जीकरण शाखा, सूचना प्रविधि शाखा, उद्यम बिकास शाखा, बालमैत्री शाखा, भौतिक तथा पूर्वाधार शाखा तथा वडागत प्रतिबेदन समेत प्रस्तुत गर्नुभएको थियो ।


कार्यक्रममा नेपाली कांग्रेसका प्रतिनिधि शालिकराम पाण्डेले गत वर्षको सार्वजनिक सुनुवाईमा उठेका प्रश्नहरुको के कति सम्बोधन भयो भन्नेबारे समिक्षा आवश्यक रहेको बताउनुभयो । उहाँले यस्ता कार्यक्रमहरुमा प्रश्न सोध्ने व्यक्तिहरुको प्रश्नको सम्बोधन के कति भयो भन्ने बिषयले उसले आफ्नो स्वाभिमानको समेत सवाल बुझ्ने भएकोले सार्वजनिक सुनुवाई कार्यक्रममा उठान भएका विषयहरुको सम्बोधनमा पालिकाले ध्यान दिनुपर्ने बताउनुभयो ।
कार्यक्रममा स्थानीय अनुभव सुनारी मगरले बन्य जन्तुको संख्या बढ्दै जाँदा किसानहरु बिस्थापित हुने अवस्था आएको बताउनुभयो । उहाँले गाउँपालिका स्तरको शिक्षा क्षेत्र सुधारमा ध्यान दिनुपर्ने बताउनुभयो ।
कृष्ण बहादुर सुनारीले गाउँपालिकाको प्रशासनिक भवन निर्माणमा तीव्रता दिन किन नसकिएको भनि प्रश्न गर्नुभयो । धन बहादुर खाम्चाले प्रदेश र संघबाट संचालित योजनाहरु संचालनमा ढिलासुस्ती भएको बताउनुभयो ।
इश्वरी प्रसाद अर्यालले कार्यपालिकाको निर्णय आम जनताहरुले थाहा पाउने गरी सार्वजनिक गर्नुपर्ने बताउनुभयो । चित्र सिं आलेले नदीजन्य पदार्थको रोयल्टी कुन आधारमा निर्धारण गरिन्छ भनेर जिज्ञाशा राख्नुभयो ।
कार्यक्रममा उठान भएका प्रश्नहरुको जवाफ गाउँपालिका अध्यक्ष मुक्त बहादुर सारु, प्रमुख प्रशासकीय अधिकृत मदन अर्याल, वडाध्यक्ष दुर्गा बहादुर सोमैले दिनुभएको थियो ।
गाउँपालिका अध्यक्ष सारुले आम जनताले राख्नुभएका जिज्ञाशा र सुझाव सल्लाहले गाउँपालिकाको योजना तथा कार्यक्रमलाई थप प्रभावकारी बनाउन सहयोग पुर्याउने बताउनुभयो ।
कार्यक्रम कुटुम्ब मिडिया नेटवर्क प्रालिका प्रमुख नारायण न्यौपानेको संचालनमा चलेको थियो ।





