लगातार बढिरहेको सुनको भाउले आज (मङ्गलबार) नयाँ कीर्तिमान बनाएको छ । सुन अहिलेसम्मकै उच्च विन्दुमा पुगेर तोलाको एक लाख ७१ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
सुनको भाउ यही फागुन ८ गते र गएको कात्तिक १५ गते अहिलेसम्मकै उच्च तोलामा एक लाख ७१ हजार रुपैयाँ रहेको थियो । सरकारले सुनको आयातमा लाग्ने भन्सार महसूल घटाएसँगै मङ्सिर १० गते एकैदिन तोलामा १५ हजार नौ सय रुपैयाँले घटेको थियो ।
सरकारले गएको मङ्सिर ९ गते सुनको भन्सार दर २० प्रतिशतबाट १० प्रतिशतमा झारेको थियो भने चाँदीको पनि भन्सार महसूल दर १५ प्रतिशतबाट १० प्रतिशतमा झारेको थियो । सुनको भन्सार दर घटेसँगै सुनको भाउमा पनि उचारचढाव भइरहेको छ ।





