नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आउँदो चुनावमा देशकै ठूलो पार्टी बन्ने गरी तयारीमा लाग्न पार्टीका नेतारकार्यकर्तालाई निर्देशन दिनुभएको छ ।
रुपन्देहीमा प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले बहुमत ल्याउन नसके पनि सबैभन्दा ठूलो पार्टी बन्नसक्ने बताउनुभयो । नेताहरूबीचका मतभेदहरू छलफलको माध्यमबाट समाधान गरेर पार्टीलाई जीवन्त बनाउनुपर्ने उहाँको भनाइ छ ।
कांग्रेसको नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले आयोजना गरेको क्षेत्रीय सभापति प्रशिक्षण कार्यक्रमको मुख्य एजेन्डाका रूपमा सामाजिक सञ्जालको प्रयोगमार्फत पार्टीको विस्तार कसरी गर्न सकिन्छ भन्ने रहेको छ । देशको ठूलो दल नेपाली कांग्रेसले आफ्ना अगुवा कार्यकर्तालाई सामाजिक सञ्जालको प्रयोग र प्रभावबारे सिकाउन लागेको हो ।
बन्दसत्रमा सामाजिक सञ्जालको प्रभावकारी सदुपयोग कसरी गर्न सकिन्छ भन्नेबारे सिकाउने काम भइरहेको कांग्रेसको नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका संयोजक तथा पूर्णबहादुर खड्काले जानकारी दिनुभयो । खड्काका अनुसार कांग्रेसले पहिलो पटक सामाजिक सञ्जालको प्रयोगमार्फत पार्टी विस्तारका सम्बन्धमा पाठ्यक्रम नै समावेश गरेर छलफल थालेको हो । यसबाहेक अरू ६ वटा विषयका प्रस्तुति रहनेछन् ।
प्रशिक्षणमा एक सय ३० क्षेत्रीय सभापति, एक सय ३० क्षेत्रीय प्रशिक्षण प्रतिष्ठान प्रमुख र एउटै निर्वाचन क्षेत्र भएका जिल्लाका क्षेत्रीय सभापति र उपसभापति ७० गरी तीन सय ३० जनाको सहभागिता छ ।





