सरकारले चिकित्सक र नर्सको पारिश्रमिक बढाउने तयारी गरेको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले चिकित्सक र नर्सहरूलाई श्रम ऐनले व्यवस्था गरेबमोजिम पारिश्रमिक दिनेगरी सरकारले काम अघि बढाइरहेको जानकारी दिएका हुन् । मंगलवार काठमाडौँमा नेपाल चिकित्सक संघको ७५ औँ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले चिकित्सक र नर्सहरुको पारिश्रमिक सरकारी र निजी दुबैमा बढाउने गरी सरकार अघि बढिरहेको बताए ।
उनले भने ‘सरकारीमा पनि तलब बढाउने र निजीमा पनि यस्तो पारिश्रमिकले पुग्दैन । कम्तीमा श्रम ऐनले व्यवस्था गरेबमोजिम स्किल्ड म्यानपावरलाई दिनुपर्ने न्यूनतम तलब दिनुपर्छ । त्यो एकदम कडाइका साथ लागू गर्नेगरी अघि बढिरहेका छौँ । श्रम ऐनले तोकेको रकमले पनि पुग्दैन । एउटा नर्सलाई २२ हजारले, एउटा डाक्टरलाई ४८ हजारले दैनिकी गुजार्न सम्भव हुँदैन । यसलाई गुजारा गर्ने स्थिति मात्रै निर्माण गर्नसक्यौँ भने विदेश जाने क्रम रोकिन सक्छ ।’
मन्त्री पौडेलले नेपाली चिकित्सा शिक्षा विश्वमै विश्वसनीय बनेको समेत दाबी गरे ।





