स्ववियु निर्वाचन शान्तिपूर्ण वातावरणमा गराउन प्रहरीलाई गृहमन्त्रीको निर्देशन

गृहमन्त्री रमेश लेखकले आसन्न स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनलाई गम्भीर रुपमा लिएर शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न प्रहरी अधिकारीहरुलाई निर्देशन दिएका छन् । बुधबार बिहान गृहमन्त्री लेखकले गृह मन्त्रालयमा प्रहरी प्रमुख प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरसहित उच्च पदस्थ प्रहरी अधिकारीहरुलाई मुलुकका विभिन्न क्याम्पसहरुमा हुने स्ववियु निर्वाचन शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गर्न आवश्यक सुरक्षा प्रबन्ध मजबुत बनाउन निर्देशन दिएका हुन् ।

त्यसैगरी, मन्त्री लेखकले निर्वाचन हुने प्रत्येक जिल्लामा जिल्ला प्रहरी कार्यालयमा स्ववियु निर्वाचनकै लागि सम्पर्क व्यक्ति तोकेर निर्वाचन हुने क्याम्पस र आवश्यक सुरक्षा संयन्त्रसित समन्वय गर्न आग्रह समेत गरे ।

उनले भने, ‘प्रहरी प्रधान कार्यालयमा निर्वाचन समन्वयका लागि टिम समेत गठन गर्न निर्देश गरेको छु । निर्वाचन हुने जिल्लामा आवश्यक समन्वयका लागि क्याम्पस प्रशासनलाई प्रमुख जिल्ला अधिकारीसहित सुरक्षा समितिसित समन्वय गर्ने वातावरण बनाइएको छ ।’ त्यसका साथै, नेपाल प्रहरीले स्ववियु निर्वाचनका लागि सशस्त्र प्रहरी बलसित पनि समन्वय गर्ने गरी कामकारबाही अघि बढाउन निर्देशन दिइएको छ । प्रहरी प्रमुखसँग निर्वाचन सुरक्षा बारे जानकारी समेत लिँदै मन्त्री लेखकले स्ववियु निर्वाचनलाई आम निर्वाचन जत्तिकै गम्भीर रुपमा लिएर सुरक्षा प्रबन्ध मिलाउन आग्रह गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?