त्रिविका ११ क्याम्पसमा स्ववियु निर्वाचन प्रक्रिया अगाडि बढेन

त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तर्गतका ११ आङ्गिक क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको प्रक्रिया अगाडि बढ्न सकेको छैन । विद्यार्थी सङ्गठनबीच विवाद हुँदा ११ वटा आङ्गिक क्याम्पसमा निर्वाचन प्रक्रिया नै अगाडि बढ्न नसकेको विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीले जानकारी दिए । विद्यार्थी सङ्गठनबीच भर्ना प्रक्रियामा विवाद हुँदा ती क्याम्पसमा निर्वाचन प्रक्रिया अगाडि बढ्न नसकेको उनले बताए ।

निर्देशक अधिकारीका अनुसार देशभरि रहेका ६२ वटा आङ्गिक क्याम्पसमध्ये उपत्यकामा छ र उपत्यका बाहिर पाँच वटा आङ्गिक क्याम्पसमा निर्वाचन प्रक्रिया अगाडि नबढेको हो । उपत्यकाका नेपाल ल क्याम्पस, शङ्कर देव क्याम्पस, पब्लिक युथ क्याम्पस, सरस्वती बहुमुखी क्याम्पस, विश्वभाषा क्याम्पस र थापाथली इञ्जिनियरिङ क्याम्पस र उपत्यका बाहिर महेन्द्रनगरको सिद्धनाथ बहुमुखी क्याम्पस, बुटवल बहुमुखी क्याम्पस, भैरहवा बहुमुखी क्याम्पस, विराटनगर महेन्द्र मोरङ क्याम्पस र जनकपुरको रामस्वरुप रामसागर बहुमुखी क्याम्पसमा प्रक्रिया रोकिएको हो ।

त्रिविले स्ववियु निर्वाचनको प्रचारप्रसारका लागि चैत २ गते राति १२ बजेसम्मका लागि समय तोकेको छ । त्रिविअन्तर्गतका क्याम्पसमा एकैदिन चैत ५ गते निर्वाचन हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?