घरेलु बक्स अफिसमा हिट चलचित्र ‘अञ्जिला’ले प्रदर्शनको १३ दिनको ग्रस कलेक्सन सार्वजनिक गरेको छ । चलचित्रका वितरक करण श्रेष्ठका अनुसार दोस्रो साताको मंलबारसम्म देशभरका हलहरूबाट ८ करोड ७० लाख रूपैयाँ ग्रस कलेक्सन भएको छ ।
चलचित्रका निर्माता प्रेमकुमार श्रेष्ठका अनुसार, चलचित्रको दोस्रो सातासम्मको प्रदर्शन पनि अघिल्लो हप्ता अनुसार अपेक्षाकृत रहेको छ । हामीले सोचेजस्तै चलचित्रले राम्रो व्यापार गरिरहेको छ । दर्शकको माया र समर्थनले हामीलाई थप हौसला मिलेको छ । अझै केही सातासम्म राम्रो व्यापार गर्ने अपेक्षा गरेका छौ’, उनले भने ।
निर्देशक मिलन चाम्सले ‘अञ्जिला’को सफलताप्रति खुसी व्यक्त गरे ।
यो चलचित्र नेपाली महिला राष्ट्रिय फुटबल टिमकी कप्तान एन्जिला तुम्बापो सुब्बाको जीवनीमा आधारित छ । जसमा एन्जिला आफैंले प्रमुख भूमिकामा अभिनय गरेकी छन् ।
चलचित्रमा उनको बाल्यकालदेखि खेल जीवनसम्मको संघर्ष र सफलताको कथा प्रस्तुत गरिएको छ । यसमा एन्जिलासँगै प्रेमकुमार श्रेष्ठ, सुनिल थापा, दयाहाङ राई, विजय बराल, सिर्जना सुब्बा, माओत्से गुरुङ, सुमीन गुरुङ, बुद्धि तामाङ लगायतका कलाकारहरूको अभिनय रहेको छ ।
-एजेन्सी





