काठमाडौं महानगरले ज्ञानेन्द्र शाहलाई ७ लाख ९३ हजार रुपैयाँ जरिवाना तिराउने

काठमाडौं महानगरपालिकाले चैत १५ गते शुक्रबार पूर्वराजाका समर्थकहरुले गरेको प्रदर्शनका क्रममा नोक्सानीको विवरणसहितको पत्र पूर्वराजा ज्ञानेन्द्र शाहको निवासमा पठाएको छ ।

शनिबार सबै घटनामा कुल नोक्सानी रकम सात लाख ९३ हजार रुपैयाँसहितको पत्र महानगरले शाहलाई पठाएको हो । पत्र निर्मल निवासमा पठाइएको महानगरले जनाएको छ ।

महानगरपालिकाले विभिन्न ८ वटा शीर्षकमा जरिवाना तोकेको हो । एउटा शीर्षकमा १ लाख ३० हजार, ६ वटा शीर्षकमा १/१ लाख र एउटा शीर्षकमा ६३ हजार गरी ७ लाख ९३ हजार रूपैयाँको बिल महानगरपालिकाले निर्मल निवासमा पठाएको छ।

जरिवाना कसलाई तिराउने भनेर महानगर प्रमुख बालेन्द्र शाह (बालेन)ले टिममा छलफल गरेका थिए। दुर्गा प्रसाईको नेतृत्व र राप्रपाका नेताहरूको सहयोगमा प्रदर्शन भए पनि यसको मुख्य जिम्मेवार निर्मल निवास भएको निष्कर्षमा पुगेपछि पत्र पनि ज्ञानेन्द्र शाहकै नाममा काटिएको हो।

शनिबार बिहानैदेखि महानगरको टोली प्रदर्शनकारीले विभिन्न संरचनामा पुर्‍याएको क्षतिको विवरण संकलन गर्न पुगेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?