पिकअप भ्यान पल्टिँदा दुईको मृत्यु, २२ जना घाइते

रूपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका-७ भरवलियामा पिकअप भ्यान दुर्घटना हुँदा एक बालिकासहित दुई जनाको मृत्यु भएको छ भने २२ जना घाइते भएका छन्।

लुम्बिनी सांस्कृतिक नगरपालिका-७ स्थित शिवगढिया मोडमा सोमबार साँझ लु१च २७६३ नम्बरको पिकअप भ्यान पल्टिँदा गैँडहवा गाउँपालिका-१ शिवपुरवाकी १२ वर्षीया अस्मिता यादव र शुद्धोधन गाउँपालिका-६ मानमटेरियाकी ४८ वर्षीया जानमती यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रूपन्देहीले जनाएको छ।

घाइतेमध्ये तीन जनाको लुम्बिनीस्थित लाइफ केअर अस्पताल र १९ जनाको भैरवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज रानीगाउँमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय लुम्बिनीले जनाएको छ।

घटनाका प्रत्यक्षदर्शी सन्दीप गुप्ताका अनुसार तीव्र गतिमा गुडिरहेको उक्त भ्यान मोडमा पुगेपछि अनियन्त्रित भई पल्टिएको थियो।

दुर्घटनापछि कपिलवस्तु जिल्ला शुद्धोधन गाउँपालिका-४ बिठुवा बस्ने सवारी चालक २६ वर्षीय अशोक पासीलाई प्रहरीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय रूपन्देहीले बताएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?