भारी बर्षासँगै सप्तकोशी नदीमा पानीको बहाव बढ्न थालेपछि तटीय क्षेत्रमा शतर्कता बढाइएको छ । बहाव बढेसँगै सुनसरी प्रशासनले नदीमा डुङ्गा चलाउन पूर्ण रुपमा रोक लगाएको छ भने सम्भावित जोखिमलाई मध्यनजर गर्दै माछा मार्ने तथा बाढीले बगाएर ल्याएका दाउरा नदीबाट झिक्न समेत प्रशासनले प्रतिबन्ध लगाएको हो । नदीको जलस्तर बढ्दो क्रममा रहेसँगै प्रशासनले कोशीको बाँध तथा स्पर र नोज अनुगमनको कार्यलाई समेत निरन्तरता दिएको छ। साथै सम्भावित विपद् आइपरे खोज तथा उद्धारका लागि सुरक्षाकर्मीको टोली तयारी अवस्थामा राखिएको छ ।
पछिल्लो मापन अनुसार सप्तकोशी नदीमा पानीको बहाव १ लाख २६ हजार ५ सय ५ क्यूसेक प्रतिसेकेण्ड रहेको छ । ब्यारेजका १६ ढोका खोलिएका छन् । नदीको बहाव बढ्दो क्रममा रहेपनि सबै तटबन्ध तथा स्परहरु सुरक्षित रहेको सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए। उनले कहीँकतै कटानको खबर नरहेको जानकारी दिए । प्रजिअ यादवले तटीय क्षेत्रका बासिन्दालाई भने शतर्कता अपनाउन आग्रह गरिएको बताए ।