राष्ट्र बैंकद्वारा लगातार ट्रेजरी बिल खरिद

नेपाल राष्ट्र बैंकले लगातार चौथो पटक पनि ट्रेजरी बिल आफैंले खरिद गरेको छ ।केन्द्रीय बैंकले सोमबार २८ दिन, ९१ दिन, १ सय ८२ दिन र ३ सय ६४ दिन अवधिको १२ खर्ब २३ करोड ३२ लाख रुपैयाँको ट्रेजरी बिल नवीकरणका लागि बोलकबोलमा ल्याएको थियो । जसमध्ये ७ अर्ब ३५ करोड रुपैयाँको ट्रेजरी बिल राष्ट्र बैंकले नै खरिद गरेको हो ।

यसअघि साउन १६, २३ र ३० गते पनि नवीकरणका लागि बोलकबोल गरेको ट्रेजरी बिल राष्ट्र बैंकले नै खरिद गरेको थियो । साउन पहिलो साता मौद्रिक नीति ल्याएपछि साउन ९ गते बोलकबोल गरेको ट्रेजरी बिलमा बैंकहरूले डिस्काउन्ट रेट १४ प्रतिशतसम्म बोलकबोल गर्दा राष्ट्र बैंकले स्वीकार गरेको थियो । तर, त्यसपछि हरेक पटक नवीकरणका लागि बोलकबोलमा ल्याएको ट्रेजरी बिल आफैं खरिद गर्दै आएको छ ।

साउन ९ गतेपछि राष्ट्र बैंकले ४२ अर्ब ४३ करोड ३२ लाखको ट्रेजरी बिल नविकरणको लागि बोलकबोल ल्याएकोमा ३५ अर्ब ४० करोड ५ लाख रुपैयाँको ट्रेजरी बिल राष्ट्र बैंकले नै खरिद गरेको हो । सोमबार नवीकरणका लागि बोलकबोल आह्वान गरेको २८ दिन अवधिको २ अर्ब रुपैयाँको ट्रेजरी बिल बैंकहरूले नै नवीकरण गरेका छन् । उक्त ट्रेजरी बिलमा १३ बैंक तथा वित्तीय संस्थाले ५१ वटा आवेदन मार्फत ६ अर्ब ३१ करोडको लागि बोलकबोल पेश गरेका थिए ।उक्त ट्रेजरी बिलको डिस्काउन्ट रेट न्युनतम ७ दशमलव ९९ प्रतिशत, अधिकतम ८ दशमलव ७५ प्रतिशत र औसत ८ दशमलव ७० प्रतिशतमा स्वीकार गरेको राष्ट्र बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?