यही शुक्रवारबाट नेपालसहित संसारका धेरै देशहरुमा एकसाथ प्रदर्शनमा आउन लागेको अभिनेता प्रदीप खड्का स्टारर फिल्म ‘प्रकाश’को चार ठूला मुलुकमा अग्रिम बुकिङ खुल्ला भएको छ । मंगलवारबाट यूएई, ओमान, बहराइन, कतारलगायतका देशमा अग्रिम बुकिङ खुलेको हो । यूएईको ‘नोभो सिनेमाज्’ले आफ्नो ६ वटा मेजर हलमा फिल्मलाई कूल १९ शो उपलब्ध गराएको छ ।
नोभोले बहराइन, ओमन र कतारको हलमा पनि फिल्मलाई राम्रो शो प्रदान गरेको छ । यी चार देशका अन्य मल्टप्लेक्सहरुले पनि फिल्मलाई शो बाँडिसकेका छन् । विभिन्न देशका मल्टीप्लेक्सहरुमा फिल्मले विदेशी फिल्म बराबरकै शो पाएको निर्माता महेन्द्र अधिकारीले बताए । पछिल्लो समय विभिन्न खाडी मुलुकका हलहरुमा नियमित रुपमा नेपाली फिल्महरु प्रदर्शन हुँदै आएका छन् ।
निर्माता अधिकारीले अमेरिकामा पनि ‘प्रकाश’ निरन्तर शोमा प्रदर्शन हुने बताए । अमेरिकामा आधा दर्जन हलमा फिल्म प्रदर्शन हुने जानकारी प्राप्त छ । अष्ट्रेलियामा भने फिल्मको प्रायः शोहरु सोल्डआउट भएका छन् । केही अगाडि अग्रिम बुकिङ खुलेका कारण धेरै शोहरु सोल्डआउट भएका हुन् । फिल्मको कथावस्तु र प्रदीपको फरक लुक्सले विदेशमा फिल्मको डिमान्ड राम्रो छ ।
दिनेश राउत निर्देशित फिल्मको नेपालमा भने बुधवार दिउँसोबाट मल्टीप्लेक्सहरुमा अग्रिम बुकिङ खुल्ला हुनेछ । शिक्षक बन्न एक युवाले गर्ने संघर्षको कथा बनेको फिल्ममा दीया मास्के, रेनु योगी, प्रकाश घिमिरे, निरज पन्थी, गोविन्द सुनुवार, रामबाबु रेग्मी, लोकेन्द्र लेखक, दिपेन्द्र शाहीलगायतको पनि अभिनय छ । बिकास सुवेदीको लेखन रहेको फिल्मलाई राजेश श्रेष्ठले खिचेका हुन् ।