अभिनेता पुष्प खड्का र अभिनेत्री पूजा शर्माको फिल्म ‘राजकुमारी’मा जोडी बाँधिने भएको छ । ‘जय शम्भु’ फेम्ड निर्देशक रूपेश तामाङ्गको निर्देशनमा बन्न लागेको यस फिल्ममा उनीहरुले काम गर्ने पक्का भएको हो । पुष्पले हालै यो फिल्म साइन गरेका हुन् भने पूजासँग निर्माताले लकडाउन अगावै सम्झौता गरेका थिए । फिल्म लभस्टोरी र एक्सन जनरामा निर्माण हुने जानकारीमा छ ।
निर्देशक तामाङ्ग भदौ अन्तिमबाट छायांकन सुरु गर्ने तयारीमा छन् । तर, पूजा र पुष्पको व्यस्त सेड्युलका कारण दशैंअघि फिल्म छायांकनमा जाने सम्भावना न्यून छ । अहिले फिल्मको स्क्रिप्ट करेक्सनको काम भइरहेको छ । प्राप्त जानकारी अनुसार, फिल्मको छायांकन भारतको कालिम्पोङ क्षेत्रमा हुनेछ । गत अगस्टमा निर्देशक तामाङ्ग लोकेशन हन्टिङ्गका लागि कालिम्पोङ पुगेका थिए ।
पूजा र पुष्पलाई एकसाथ फिल्ममा हेर्ने दुवैका फ्यानहरुको ठूलो इच्छा थियो । फिल्म ‘अझै पनि’मा एकसाथ काम गरेको भए पनि त्यसमा उनीहरु जोडीको रुपमा थिएनन् । लकडाउनयता केही म्यूजिक भिडियोमा काम गरेकाले दर्शकहरुलाई यी दुईको जोडी मन परेको छ । उनीहरुबीच राम्रो सम्बन्ध पनि छ । गोप्य स्रोतका अनुसार, ‘राजकुमारी’का लागि पूजाले नै पुष्पलाई रोजेकी हुन् ।
२०७६ सालमा रूपेश तामाङ्गको निर्देशनमा फिल्म ‘मन परेसी पर्यो पर्यो’को घोषणा गरिएको थियो । फिल्ममा पूजा र आकाश श्रेष्ठ मुख्य भूमिकामा अनुबन्ध भएका थिए । फिल्मको भद्रकाली मन्दिरमा मुहूर्त समेत भएको थियो । तर, पछि यो फिल्म निर्माण हुन सकेन । अब उक्त नाम परिवर्तन गरेर आकाशको ठाउँमा पुष्पलाई अनुबन्ध गर्दै तामाङ्गले ‘राजकुमारी’ बनाउन लागेका हुन् ।