शुक्रवारबाट प्रदर्शनमा आएको चलचित्र ‘झिँगेदाउ’लाई मिलेको दर्शकको साथ र प्रतिक्रियाले अभिनेत्री आँचल शर्मा खुसी देखिएकी छन् । शुक्रवार र शनिवार काठमाडौंका दर्शकहरुको प्रतिक्रिया बुझ्न विभिन्न हलहरुमा पुगेकी आँचलले सोमवार श्रीमान् उदिप श्रेष्ठको जन्म जिल्ला चितवन पुगेर ‘झिँगेदाउ’ हेर्ने दर्शकहरुसँग प्रत्यक्ष भेट गरेकी छन् ।सोमवार चितवनमा ‘झिँगेदाउ’ले ८० प्रतिशत माथि अकुपेन्सी कायम गरेको वितरकले बताएका छन् । चलचित्र हेर्न महिलाहरुको बढी उपस्थिति थियो । परिवारसहित चलचित्र हेर्न आएकी एक जेष्ठ आमाले आँचललाई भेट्दा अंगालो हाल्दै आँसु बगाएकी थिइन् । आँचलले पनि ती आमाप्रति अगाध प्रेमभाव दर्शाइन् । चलचित्र हेर्न विशेषगरी महिलाहरुको उपस्थिति बढी देखिएको थियो ।
‘झिँगेदाउ’को ‘वर्ड अफ माउथ’ बलियो रहेका कारण वीकडेजमा पनि दर्शक उर्लिएका छन् । आमा र छोरा(बुहारीहरुको कथा भन्ने चलचित्रमा आँचलसँगै केकी अधिकारी, मुकुन भुषाल, कुशल विष्ट, हिँउवाला गौतम, संगम भण्डारी, विजय देउजा, आर्यन खड्का, अभयराज बराल, आशा भुषाललगायतको पनि अभिनय रहेको छ ।चलचित्रमा अर्जुन पोखरेलको संगीत, विष्णु घिमिरे कल्पित को छायांकन, रोशन श्रेष्ठको एक्सन र मित्रदेव गुरुङको सम्पादन छ । सुलभ प्रतिक देउजा र समिक्षा देउजाले निर्माण गरेको चलचित्रमा सुशील दाहाल र इश्वर घिमिरेको सह(निर्माण छ । प्रदीप भारद्वाजको लेखन रहेको चलचित्र भीमनिधि तिवारीको कृति ‘झिँगेदाउ’मा आधारित छ ।