हिन्दी भाषामा डब भएर भारतका सिनेमा हलमा प्रदर्शन हुने पहिलो नेपाली चलचित्रको इतिहास रच्न लागेको चलचित्र ‘प्रेमगीत ३’को नयाँ गीत सार्वजनिक भएको छ । टिजर र ट्रेलर झैं चलचित्रको गीत पनि नेपाली र हिन्दी भर्सनमा सार्वजनिक गरिएको छ । ‘तुम प्यार हो’ बोलको रोमान्टिक हिन्दी गीतमा पलक मुच्छल र अंकित तिवारीको स्वर, कुमारको शब्द रचना र असलम केयीको संगीत छ ।
त्यस्तै, चलचित्रमा समावेश नेपाली भर्सनको ‘हर युग होस्’ बोलको गीतमा सुगम पोखरेल र अञ्जु पन्तको स्वर, राजेश श्रेष्ठको शब्द र एलिस कार्कीको संगीत छ । हिन्दी र नेपाली दुवै गीतको भिडियोमा दृश्यहरु एउटै छन् । अभिनेता प्रदीप खड्का र अभिनेत्री क्रिस्टिना गुरुङ रोमान्टिक भावमा प्रस्तुत गीतको भिडियोमा हिउँले सेताम्मे हिमालको दृश्य र राजेश श्रेष्ठको छायांकन गजब छ ।
असोज ७ गतेबाट नेपाल र भारतमा एकसाथ प्रदर्शनमा आउन लागेको चलचित्रको नेपालसँगै भारतमा ठूलो प्रतिक्षा छ । भारतको वितरक कम्पनीका अनुसार, भारतमा १५ सय हलमा चलचित्र प्रदर्शन हुनेछ । यतिबेला चलचित्रको टिमले भारतका विभिन्न ठाउँमा पुगेर प्रचार गरिरहेको छ । चलचित्रको यसअघि सार्वजनिक हिन्दी र नेपाली भर्सनको टिजर र ट्रेलर दर्शकहरुले रुचाएका छन् ।राजेश श्रेष्ठ र पुरुषोत्तम प्रधान मिलेर खिचेको चलचित्रमा प्रदीप र क्रिस्टिनाका अलावा शिव श्रेष्ठ, शिव श्रेष्ठ, सुनिल थापा, अनुभव रेग्मी, सम्वृद्धि शाही ठकुरी, मनिष राउत, सन्तोष सेन, माओत्से गुरुङ, पुस्कर कार्की, प्रेम पुरी, लक्ष्मी वर्देवा, जीवन भट्टराई, योगिशा खत्री, राज थापालगायतको अभिनय रहेको छ । स्वर्गीय छेतेन गुरुङ र सन्तोष सेनले चलचित्रको निर्देशन गरेका हुन् ।