हलिउड अभिनेता मोर्गन फ्रिम्यानले तीन वर्ष अगाडि नेपालमा आएको समयमा विताएको क्षण स्मरण गरेका छन् । टेलिभिजन शो ‘स्टोरी अफ गड’ छायांकनका लागि दशैंको समयमा नेपाल आउँदा नेपाली ढाकाटोपी र ढाकाको स्टकोट लगाएर पिङ खेलेका तस्वीर उनले बुधवार आफ्नो सामाजिक सञ्जालमा साझेदार गरेका छन् ।
उनले तस्वीरसँगै क्याप्सनमा लेखेका छन्, ‘दशैंको दुई साता लामो उत्सव नेपालीहरुका आधारभूत मान्यताहरुभन्दा माथि रहेर रुपक र शाब्दिक रुपमा पनि महत्वपूर्ण छ । दशैं खराबीभन्दा माथि राम्रोको विजयभन्दा पनि माथि हो । यसले हामीभित्रका अन्तद्र्वन्द्वलाई स्वीकार्दै र संसारमा असफलतालाई स्वागत गर्न हाम्रो आत्मालाई मुक्त गर्दैछ । ‘स्टोरी अफ गड’को छायांकनको क्रममा मेरो काठमाडौं यात्रा र दशैंको परम्परामा डुब्दा मैले पाएको माया कहिल्यै बिर्सने छैन ।’बोल्ड आवाजका कारण चर्चा बटुलेका फ्रिम्यानले चलचित्र ‘इन्भिक्ट्स’मा लोकप्रिय दक्षिण अफ्रिकी नेता नेल्सन मण्डेलको भूमिका निर्वाह गरेका थिए । सन् २००४ को चलचित्र ‘मिलियन डलर बेबी’बाट उनले सर्पोटिङ एक्टरको रुपमा ओस्कार अवार्ड जितेका थिए ।