प्रदर्शकहरुले नेपाली फिल्मलाई ‘अफ टाइमिङ’मा शो दिने गरेकोप्रति अभिनेत्री स्वस्तिमा खड्काले चित्त दुखाएकी छन् । नेपाली फिल्मका लागि शो भिख मागे जसरी माग्नुपर्ने र शोको टाइमिङ पनि कुबेला दिने हलवालाको व्यवहारले चित्त दुख्ने गरेको उनको भनाई छ । विदेशी फिल्मलाई ‘अफ टाइमिङ’ दिएर नेपाली फिल्मलाई राम्रो टाइमिङको शो उपलब्ध गराउन उनको आग्रह छ ।
शनिवार एक कार्यक्रममा सहभागी हुने क्रममा उनले सञ्चारकर्मीसँग कुराकानी गर्दै भनिन्, ‘हलवालाबाट नेपाली फिल्मले खालको जुन सहयोग पाउनु पर्ने हो त्यो नपाएको अवस्था छ । हरेक हप्ता शोको विषयमा समस्या आइरहेको छ । हामीले शो पनि भिख मागेको जसरी माग्नुपर्ने अवस्था छ । शो धेरै देऊ भन्नु राम्रो होइन तर नेपाली फिल्मलाई दिइने टाइमिङले एकदमै चित्त दुख्ने गर्छ ।’
आफ्नो फिल्म ‘चिसो मान्छे’लाई पनि हलवालाले ‘अफ टाइमिङ’मा शो दिएकोप्रति चित्त दुखाउँदै उनले विदेशी फिल्म दर्शकहरुले खोजी(खोजी हेर्ने भएकाले उनीहरुलाई ‘अफ टाइमिङ’मा दिएर नेपाली फिल्मलाई राम्रो टाइमिङको शो दिए दर्शकको राम्रो साथ पाउन सकिने धारणा राखिन् । ‘अफ टाइमिङ’मा दिइने शोका कारण धेरै दर्शकले नेपाली फिल्म हेर्न नसकेको उनको भनाई छ ।
स्वस्तिमाले ‘चिसो मान्छे’पछि नयाँ फिल्म साइन गरेकी छैनन् । उनले यतिबेला आफू एउटा फिल्मको तयारी गरिरहेको बताएकी छन् । उनले भनिन्, ‘एउटा फिल्मको तयारी भइरहेको छ । अहिले हामी एकदमै इनिसियल फेजमा छौं । यो फिल्ममा म आफैं निर्माता भएर जोडिएको छु । सायद त्यो भयो भने दर्शकले केही नयाँ हेर्न पाउनु हुनेछ । चाँडै यसबारेमा जानकारी गराउने छौं ।’